काठमाडौं । निर्वाचन आयोगमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी छ।
बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा सुनिश्चित गर्न छलफल भइरहेको छ। गृह मन्त्रालय, रक्षा मन्त्रालयका सचिव र सुरक्षा निकायका उच्च अधिकारीहरू पनि बैठकमा सहभागी छन्।
सुरक्षा समितिले देशका संवेदनशील क्षेत्रमा हालको अवस्था समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने तयारी गरिरहेको छ। विशेषगरी केही दिनअघिको रौतहट झडप र वीरगञ्जमा लागु भएको कर्फ्युको घटनाले सुरक्षा विषयलाई महत्वपूर्ण बनाएको छ।
निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दल र उम्मेदवारले फागुन १८ गतेसम्म प्रचारप्रसार गर्न पाउनेछन्। त्यसपछि मौन अवधि सुरु हुनेछ। आयोगका अधिकारीहरूले सुरक्षा संवेदनशील क्षेत्र र निर्वाचनको सुचारु वातावरण कायम राख्न उच्चस्तरीय रणनीति बनाउने जानकारी दिएका छन्।

