वीरगञ्ज, पर्सा – पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओम प्रकाश सर्राफ ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भेडियाही र वडा नम्बर–१६ सिवम टोलमा सघन घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा विशेष रूपमा टोल–टोलमा महिला टोली परिचालन गरिएको थियो जसले चुनावी अभियानलाई थप प्रभावकारी बनाएको छ। सर्राफले घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै सडक, ढल निकास, खानेपानी, सरसफाइ, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्याबारे सुझाव संकलन गरे। उनले दीर्घकालीन समाधानसहित योजनाबद्ध विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “स्थानीय आवश्यकता नै मेरो प्राथमिकता हो।”
भेडियाही र सिवम टोलका विभिन्न समूह—युवा, व्यवसायी, ज्येष्ठ नागरिक तथा महिला दिदीबहिनी—सँगको छलफलमा रोजगारी सिर्जना, महिला सशक्तीकरण र साना उद्यम प्रवद्र्धनमा विशेष जोड दिइएको थियो। अभियानका क्रममा गठन गरिएका महिला टोलीहरूले घर–घरमा पुगेर मतदातासँग संवाद गर्ने, चुनावी एजेन्डाबारे जानकारी दिने र मतदाता परिचालन गर्ने काम गरिरहेका छन्।
स्थानीयवासीहरूले प्रत्यक्ष भेटघाट कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै जनप्रतिनिधि उम्मेदवारले टोलमै पुगेर समस्या सुन्नु स्वागतयोग्य कदम भएको बताए। उनीहरूले विगतमा ओझेलमा परेका आधारभूत सेवासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
सर्राफले सबै वर्ग र समुदायको साथ लिएर समावेशी तथा दिगो विकासको लक्ष्यसहित अघि बढ्ने प्रतिवद्धता दोहो¥याउँदै आगामी दिनमा पनि घरदैलो अभियानलाई निरन्तरता दिने बताएका छन्। स्थानीयहरूले भेडियाही र सिवम टोलमा देखिएको उत्साहपूर्ण सहभागितालाई उनका चुनावी अभियानका लागि सकारात्मक संकेतको रूपमा लिएका छन्।

