काठमाडौँ — सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा जलेका मिसिल झिकाउने आदेश दिएको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको उक्त मुद्दाका कागजात भदौ २४ गतेको आगजनीका कारण नष्ट भएको जनाइएको छ। अदालतले जलेका मिसिल पुनः प्राप्त गरेपछि मात्र सुनुवाइका लागि अर्को पेसी तोकिने जनाएको छ।
गुणस्तरहीन पुल निर्माण गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएपछि हरिनारायण रौनियारसहित ८ जनाले फरक–फरक मितिमा सर्वोच्चमा पुनरावेदन दिएका थिए। यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको थियो। दुवै पक्षको पुनरावेदनलाई एकसाथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको छ।
अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार (पप्पु)लाई दोषी ठहर गर्दै जनही साढे तीन करोड रुपैयाँ जरिवाना सुनाएको थियो।

