काठमाडौं — मलेसियाको सुलु सागर क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान १२ः५७ बजे उक्त भूकम्प मापन गरिएको हो।
भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि रहेको र यसको गहिराइ करिब ६२० किलोमिटर रहेको जनाइएको छ। गहिराइ बढी भएकाले सतहमा ठूलो क्षति नभएको अनुमान गरिएको छ।
सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागले हालसम्म कुनै पनि भौतिक पूर्वाधारमा क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त नभएको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै समुद्री किनार तथा संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको छ।
यस्तै, मलेसियाको मौसम विज्ञान विभागले सर्वसाधारणलाई नआत्तिन र सतर्क रहँदै नियमित कामकाजमा लाग्न आग्रह गरेको छ। भूकम्पपछि सबाह र सारावाकका बासिन्दाले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए।
मलेसियासहित छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही उच्च भवनहरूमा समेत हल्का धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

