काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ।
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा एक जना न्यूजील्याण्डका नागरिकसहित केही विदेशी पर्यटकसमेत परेका छन्।
पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडास्थित सडकबाट करिब ३ सय मिटर तल खस्दै त्रिशूली नदी किनारमा पुगेको थियो। बस पूर्ण रूपमा क्षतविक्षत अवस्थामा फेला परेको थियो।
उद्धार टोलीले डुंगाको सहायताले यात्रुहरुलाई घटनास्थलबाट करिब एक किलोमिटर तलसम्म ल्याएर त्यहाँबाट सडकसम्म उकालो चढाई एम्बुलेन्समार्फत अस्पताल पठाएको थियो। रातिको समय, अप्ठेरो भौगोलिक अवस्था र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए। “टर्च बाल्दै घाइतेहरुको उद्धार गर्यौं, उद्धार सामग्रीको अभाव महसुस भयो,” उनले घटनास्थलबाट भने।
उनका अनुसार ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई जीवितै उद्धार गरिएको छ। दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा टोली खटिएको थियो भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली पनि उद्धारमा संलग्न भएको थियो।

