काठमाडौँ – निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्ने उद्देश्यले आयोगले यस्तो आग्रह गरेको हो। आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको उल्लेख गर्दै त्यसको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ।
आयोगका अनुसार सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले आचारसंहिताको पालना गरे/नगरेको विषयमा अनुगमन भइरहेको छ। स्थानीय तहका केही जनप्रतिनिधि आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्दै उजुरी तथा गुनासो प्राप्त भएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत–साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ।
यस्तै, आफू बहाल रहेको स्थानीय तहमा भने कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ। आयोगले आचारसंहिता उल्लंघन भएमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

