काठमाडौँ । रौतहट जिल्ला अदालतले आज आइतबारका लागि तय गरिएका सम्पूर्ण कामकारबाही स्थगित भएको जनाएको छ। सदरमुकाम गौर क्षेत्रमा जारी अनिश्चितकालीन कर्फ्युका कारण अदालतका नियमित सेवा प्रभावित भएका हुन्।
जिल्ला प्रशासन कार्यालय रौतहट, गौरले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।
अदालतले सूचना जारी गर्दै आज प्रदान गरिने सम्पूर्ण सेवा स्थगित रहने जानकारी दिएको छ। साथै, आजका लागि तोकिएका तारिख तथा म्यादसमेत नगुज्रिने स्पष्ट गरिएको छ।
गत फागुन ७ गतेदेखि भड्किएको हिंसापछि गौरमा अवस्था तनावग्रस्त बनेको छ। शान्ति–सुरक्षा कायम गर्न प्रशासनले अनिश्चितकालीन कर्फ्यु लागू गरेको हो।


