काठमाण्डाै। जिल्ला प्रशासन कार्यालय रौतहट ले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेशलाई आज बिहान साढे ८ बजेसम्मका लागि खुकुलो पारेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यू आदेशलाई निरन्तरता दिँदै अत्यावश्यक कामका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टा आवतजावतमा सहुलियत दिइएको जनाइएको छ। साढे ८ बजेपछि भने अर्को आदेश जारी नहुन्जेलसम्म पुनः कर्फ्यू लागू रहने सूचनामा उल्लेख छ।
प्रशासनले स्थानीय बासिन्दालाई कर्फ्यूको समयावधि र सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न आग्रह गरेको छ।
यसैबीच, केन्द्रीय सुरक्षा समिति को बैठकले रौतहटमा भएको घटनाको सन्दर्भमा सबै पक्षलाई संयमता अपनाउन र आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ। बैठकले जिल्लाको सुरक्षा अवस्था सुदृढ बनाउन सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशनसमेत दिएको छ।
गृह मन्त्रालय का प्रवक्ता आनन्द काफ्लेका अनुसार रौतहटको समग्र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने गरी आवश्यक समन्वय र परिचालन अघि बढाइएको छ।

