प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै सम्भावित घटना र चुनौतीहरूबारे समयमै पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
आज बुटवलमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले चुनाव बहिष्कारका नाममा केही समूहले चन्दा असुली गर्ने वा आफ्नो अस्तित्व देखाउने प्रयास गर्न सक्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभयो।
आउँदो हप्ता फागुपूर्णिमा पर्ने र रुकुम पूर्वलगायत हिमाली जिल्लामा हिमपातको जोखिम रहने उल्लेख गर्दै उहाँले सुरक्षा चुनौती थपिन सक्ने बताउनुभयो। यसलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको छ।
त्यस्तै, तराईका केही जिल्लामा दलहरूबीच झण्डा जलाउने र उक्साउने गतिविधि बढेको जनाउँदै प्रधानमन्त्री कार्कीले चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन स्पष्ट निर्देशन दिनुभयो।
प्रधानमन्त्रीले सबै राजनीतिक दल र सरोकारवालालाई संयम अपनाउन तथा लोकतान्त्रिक संस्कारको पालना गर्न पनि आग्रह गर्नुभएको छ।

