९ फागुन, धनुषा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाएको जनाएको छ।
प्रशासनका अनुसार विभिन्न उम्मेदवारले सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाइएको हो।
निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो। तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँ सक्रिय भई शुक्रबार व्यापक रूपमा प्रचार सामग्री हटाएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर पार्नुका साथै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको बताए। उनले अब पुनः यस्ता सामग्री टाँसिए कानुनी कारबाही गरिने चेतावनी दिए।
“नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइनेछ। अटेर गरेमा सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गर्ने अवस्था आउँछ,” उनले भने, “चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्छौं।”
प्रशासनले विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू तथा सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँस्ने क्रम बढेको जनाएको छ। साथै, आफ्नो पार्टी र उम्मेदवारको प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिताको पालना गर्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरिएको छ।

