काठमाडौं, ८ फागुन — प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङको भ्रमणमा पुगेकी छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत पुग्दा उनलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता शर्मा र जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामा नेतृत्वको टोली उपस्थित थियो।
प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न आएको टोली महिलामात्र रहेको देखेपछि उनले खुशी व्यक्त गर्दै भनिन्, “मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ।” त्यसपछि उनले स्वयं प्रेमपूर्वक फोटो खिचौँ भनेर सीडीओ शर्मा र डीएसपी लामालाई आग्रह गरिन्। प्रधानमन्त्रीकै आग्रहमा तीनै जना एकै फ्रेममा फोटो खिचिएका हुन्।
सीडीओ शर्माले प्रधानमन्त्रीको उत्प्रेरणाले निर्वाचन तयारीमा हौसला मिलेको प्रतिक्रिया दिइन्। त्यसैगरी, कार्यक्रममा सहभागी दुवै महिला अधिकारी पनि खुसी देखिइन्।
प्रधानमन्त्री कार्कीले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर को दर्शन गरेकी थिइन्। साथै जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गण मा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा पनि सहभागी भइन्।
उक्त कार्यक्रममा उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिँदै भनिन्, “प्रधानमन्त्री ज्युले निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला।”

