वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै गएका छन् ।
शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ को बहुवरी टोलमा उनले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घर-घरमा पुगेर टेमानीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना मुख्य चुनावी एजेन्डाहरूबारे जानकारी गराएका थिए । उनले जसपा नेपालको घोषणापत्रअनुसार क्षेत्रको समग्र विकासमा जोड दिँदै मतदातालाई छाता छापमा मतदान गर्न आग्रह गरे । मतदाताहरूसँग कुराकानी गर्दै टेमानीले भने, “पर्सा देशको अर्थतन्त्र चलाउने महत्त्वपूर्ण जिल्ला हो, तर यहाँका बासिन्दाले अझैसम्म उचित प्रतिफल पाएका छैनन् ।
निर्वाचित भएपछि एक-एक पैसाको हिसाब राखेर विकासका काम अगाडि बढाउँछु । टेमानीले रोजगारी सृजनालाई आफ्नो सबैभन्दा ठुलो प्राथमिकता बताउँदै युवाहरूलाई स्थानीय स्तरमै रोजगारीका अवसर उपलब्ध गराउने, उद्यमशीलता विकासमा प्रोत्साहन दिने र स्वयं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफूसँग उद्योग तथा व्यवसाय सञ्चालनको राम्रो अनुभव रहेको उल्लेख गर्दै उनले युवालाई सफलताको बाटोमा डोर्याउने बताए । कार्यक्रममा पूर्व मन्त्री तथा मधेस प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मी लगायत जसपा नेपालका स्थानीय नेताहरूको पनि उपस्थिति रहेको थियो । स्थानीय बासिन्दाले टेमानीको घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन् ।
यसअघि क्षेत्रका अन्य वडाहरूमा पनि घरदैलो गर्दै टेमानीले विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा युवा रोजगारीलाई आफूले मुख्य एजेन्डा बनाए बताउने गरेका छन् । पर्सा–२ बाट जसपा नेपालको तर्फबाट उम्मेदवारी दिएका उनले क्षेत्रका समस्या समाधान गर्न प्रतिबद्धता जनाउँदै मतदाताको साथ मागेका छन् ।

