६ फागुन, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढ्दै गएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा सक्रिय रूपमा जुटेका छन्। विभिन्न राजनीतिक दलहरू प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको आकलनमा व्यस्त देखिएका छन्।
यसैक्रममा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्र निर्माण दल नेपाल ले यसपटक प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक भाग लिएको छ। सो दलका तर्फबाट बारा क्षेत्र नं. ४ मा समिम मियाँ अन्सारी उम्मेदवार बनेका छन्।
उम्मेदवार अन्सारीले आफू नयाँ सोच, नयाँ विचार र परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले विशेषगरी रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्थानीय विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।
घरदैलो तथा मतदाता भेटघाटका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनाव चिन्ह “पानीको बोतल” मा मतदान गरी विजयी गराउन आग्रह गरेका छन्। उनले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले काम गर्ने प्रतिबद्धता जनाउँदै युवापुस्तालाई राजनीतिमा सक्रिय सहभागिताका लागि आह्वान समेत गरेका छन्।
बारा क्षेत्र नं. ४ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रमा चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ।

