काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै बेथिति र बेरोजगारीको सटर एकैपटक बन्द गर्ने लक्ष्यका साथ राजनीतिमा आएको बताएका छन्।
सभामा उनले भने, “मतपत्रमा छाप लगाउने फागुन २१ मा हो। अहिले मनपत्रमा छाप लगाउने हो। सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्ने काम बन्द हुनुपर्छ। सटर त एउटै बन्द हुनुपर्छ। बेथिति र बेरोजगारीको सटर बन्द गर्ने हो, सबै सटर एकैपटक बन्द गर्ने हो।”
लामिछानेले पाँच वर्षको स्थायी सरकारको माग गर्दै जनतासँग रास्वपाका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे। उनले राजनीतिक दलले चुनावी बाचा पूरा नगर्दा जनताले भोग्दै आएको दुःखको अन्त्य गर्न रास्वपा अघि बढेको बताए।
सभामा उनले जनतालाई सम्बोधन गर्दै भने, “बाचा जसले गरेको हो, सजाय उसैले पाउने हो, जनताले होइन। भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई सम्झना। परदेशको भूमि सजिलो छैन, तर छुट्टी मिलाएरै भए पनि आउनुहोला, देश बदल्नुपर्छ। यसपटक जनताले जित्नुपर्छ, सँधै नेतामात्रै जितिरहेका छन्। देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी आएका छौं।”
रास्वपा सभापतिको यो सम्बोधनले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीको चुनावी एजेन्डा स्पष्ट पारेको छ।

