जनकपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गर्ने भएकी छन्।
शर्मा बुधबार जनकपुरमा आयोजना हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तय भएको जनाइएको छ। सोही कार्यक्रममार्फत् उनी कांग्रेसमा समाहित हुने बताइएको छ।
शर्माले “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारासहित रास्वपामा आवद्ध भए पनि व्यवहारमा त्यसको ठीक विपरीत शैली अपनाइएको आरोप लगाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन्।
उनले रास्वपाभित्र दिनरात खटिएका क्षमतावान ‘घण्टी मित्र’हरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छन्।
शर्माको राजीनामा र कांग्रेस प्रवेशको निर्णयले मधेस प्रदेशको राजनीतिक वृत्तमा नयाँ समीकरणको संकेत गरेको छ।

