काठमाडौं — पशुपतिनाथ मन्दिर क्षेत्रमा महाशिवरात्रीका दिन प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्।
महाशिवरात्री पर्वका क्रममा मन्दिर परिसरमा खटिएका एक प्रहरीमाथि युवकले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। भिडियो भाइरल भएसँगै काठमाडौं प्रहरी परिसर ले सूचनामार्फत् संलग्न व्यक्तिबारे जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेको थियो।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापा का अनुसार घटनामा संलग्न युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा मकवानपुर ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको छ। घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

