माघ २४ – पर्सा क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयकुमार चौरसियाले स्वास्थ्य, शिक्षा र रोजगारीलाई केन्द्रमा राख्दै सर्वसाधारण लक्षित ठूला विकासे घोषणा गरेका छन्।
वीरगन्ज महानगरपालिका–९ मा आयोजित वडास्तरीय भेलालाई सम्बोधन गर्दै उम्मेदवार चौरसियाले आम नागरिकको सहज र गुणस्तरीय स्वास्थ्य सेवाका लागि नारायणी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। यसले पर्सा मात्र नभई सम्पूर्ण मधेस प्रदेशका नागरिकलाई उच्चस्तरीय उपचार सेवा उपलब्ध हुने उनको दाबी छ।
स्वास्थ्यसँगै खेलकुद पूर्वाधार सुधारमा समेत जोड दिँदै उनले नारायणी रंगशालाको मर्मत तथा स्तरोन्नति गरी आधुनिक र आकर्षक बनाउने घोषणा गरे।
देशको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै चौरसियाले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। बेरोजगारी समस्या समाधानका लागि पर्सा क्षेत्रमा पोलिटेक्निकल कलेज स्थापना गर्न बजेट व्यवस्था गराइसकेको उनले जानकारी दिए।
पोलिटेक्निकल कलेज सञ्चालनमा आएपछि स्थानीय युवाले स्वदेशमै सीपमूलक शिक्षा र रोजगारी पाउने र वैदेशिक रोजगारीका लागि बाध्य हुनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ छ।
उनले अघिल्ला निर्वाचनमा गरेका प्रतिबद्धतामध्ये वृद्धाश्रम निर्माण कार्य कार्यान्वयनको चरणमा रहेको र त्यसका लागि विभिन्न निकायबाट बजेट विनियोजन भइसकेको पनि स्पष्ट पारे।
चौरसियाले आफू निर्वाचित भएपछि युवालाई पहिलो प्राथमिकतामा राख्दै उद्योगधन्दा स्थापना र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाउने प्रतिबद्धता दोहोर्याए।
चुनाव नजिकिँदै जाँदा चौरसियाले सार्वजनिक गरेका यी विकासे घोषणाले पर्सा क्षेत्र नम्बर–२ मा राजनीतिक चर्चा थप चुलिएको छ।

