माघ २४ – मुलुक आम निर्वाचनको संघारमा उभिएका बेला खेलकर्मीहरुले राजनीतिक दलहरुलाई दुरगामी प्रभाव पार्नसक्ने सुझाव पत्र दिएका छन् । राजनीतिक दललाई ३२ जना खेलकर्मीले २५ वटा सुझाव पेस गरेका छन् ।
राजनीतिक पार्टीहरू चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा रहेका छन् । दलहरुले घोषणापत्रमा नै आफ्ना एजेन्डालाई समावेश गरेर जाउन भन्ने उद्देश्यले खेलकर्मीहरुले विभिन्न राजनीतिक दललाई सुझावपत्र पेश गरिएको हो ।
सुझावपत्रमा मुलतः खेलकद आधारभुत अधिकार, पर्यटनको दिगो आधार, समृद्ध नेपालको लागि स्वस्थ नागरिकः स्वस्थ नागरिकका लागि समुदाय तथा विद्दालय तहबाटै खेलकुद, लगानी, रोजगारी तथा राष्ट्रिय गौरवका लागि खेलकुद, खेलाडी, प्राविधिक तथा खेलकुद संस्थाहरुको सुदृढिकरण, महिला शसक्तिकरण, अपांगमैत्री तथा भेट्रान खेलकुद लगायतमा जोड दिएको छ । साथै हिमाल, पहाड तथा तराईको भुगोलमा सम्भावित खेलकुद, खेलकुद नीति तथा ऐन संसोधन सहित समग्र खेल प्रशासनको सुधार लगायत समावेश गरिएको छ ।
राष्ट्रको पहिचान र राष्ट्रिय एकताको माला बोक्न सक्ने एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्छ भन्ने खेलकर्मीको साझा बुझाई हो । खेलकुदलाई संस्कृति तथा पर्यटनसँग जोडेर व्यवसायिक विकास गर्न सकिन्छ, जसलाई नीतिगत रुपमै व्यवस्था गर्नु अहिलेको आवश्यकता हो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका कार्यालय प्रमुख डा. भिष्म अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपि अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द« गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडालाई सो सुझावपत्र बुझाइएको थियो ।
सुझावपत्र बुझ्दै उनीहरुले आधुनिक समाज र राष्ट्रको मेरुदण्डको रुपमा रहेको खेलकुदलाई आफ्नो पार्टीले उच्च प्राथमिकतामा राखी घोषणा पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

