माघ २४ – सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ दुधैला खोलामा शङ्कास्पद वस्तु विस्फोट हुँदा चार जना बालक सामान्य घाइते भएका छन् । बनभोज खान गएका बालकले खेलौना जस्तो देखिने वस्तु चुल्हो नजिक राख्दा अचानक विस्फोट भएको बताएका प्रहरीले जनाएको छ ।
विस्फोटमा साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १५ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिनुभयो ।
चारै जनाको सप्तरीको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको र उनिहरु सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । घटना चुनाव लक्षित कुनै सङ्कास्पद गतिविधिसँग सम्बन्धित नभएको पनि प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । यद्यपी, घटनाबारे थप अनुसन्धान भइरहको उहाँको भनाइ छ ।

