माघ २३ – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा नेकपा एमालेले पर्सा–१ मा आफ्नो चुनावी अभियान अघि बढाएको छ। यस क्रममा वीरगंज–११, श्रीपुरस्थित त्रिमूर्ति सिनेमा हलमा पार्टीको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ।
नेकपा एमालेका उप–महासचिव योगेश भट्टराईले शुक्रबार साँझ वीरगञ्जमा पर्सा–१ क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्। प्रमुख अतिथि भट्टराईले रिबन काटेर कार्यालयको विधिवत् उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–महासचिव भट्टराईले पर्सा–१ का उम्मेदवार प्रदीप यादवलाई जिताउन सबै मतदातालाई आग्रह गरे। उनले यादव मधेसको आवाज प्रतिनिधि सभामा प्रभावकारी रूपमा पुर्याउन सक्षम, विकास–प्रेमी तथा सही समयमा सही निर्णय गर्न सक्ने क्याप्टेन भएको बताए। यादव जस्ता विकास–मुखी नेता काठमाडौँलाई आवश्यक रहेको भट्टराईको भनाइ थियो।
भट्टराईले प्रदीप यादव मधेसमा मात्र होइन, पहाडमा समेत पानी पुर्याउन सक्ने क्षमतावान् नेता भएको उल्लेख गर्दै राष्ट्रिय स्तरमा योगदान दिन सक्ने व्यक्तित्व भएको बताए।
कार्यक्रममा प्रभु हजरा, उम्मेदवार प्रदीप यादव, केन्द्रीय सदस्य विजय सरावगी, पर्सा–२ की उम्मेदवार रिमा यादव, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दास लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम मानदेव हजराको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सुन्दर कुर्मीले गरेका थिए।

