माघ २२ – वीरगञ्ज महानगरपालिका–२७ उदयपुरघुर्मीमा बिहीबार पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले विसं २००७ सालभन्दा अगाडिदेखि राणाशासनविरुद्ध संघर्ष गर्दै नेपाली कांग्रेसले जनताको अधिकार, विकास र प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले प्रजातन्त्रको संरक्षण गर्ने जिम्मेवारी अझै पनि कांग्रेसले मात्रै पूरा गर्न सक्ने दाबी गर्दै कांग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरे।
“कति दल आए, कति गए तर नेपाली कांग्रेस आज पनि जनताको हितका लागि उस्तै समर्पित छ। कांग्रेस सधैं जनताको पक्षमा उभिएको पार्टी हो,” उनले भने।
चौरसियाले कांग्रेस रहे जनताको हकअधिकार सुनिश्चित हुने उल्लेख गर्दै पर्साका चारै निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताउन अपिल गरे। नयाँ दलहरूबारे टिप्पणी गर्दै उनले इतिहास, सिद्धान्त र बलिदानका आधारमा पार्टीको मूल्यांकन गर्नुपर्ने धारणा राखे।
“छोराछोरीको विवाह गर्दा परिवार र समाज बुझेर निर्णय गरिन्छ भने देशको भविष्य तय गर्ने मतदानमा पनि इतिहास बोकेको र जनताको पक्षमा संघर्ष गरेको पार्टी रोज्नुपर्छ,” उनले भने।
उनले ११ वर्षसम्म हत्याहिंसामा संलग्न माओवादीलाई शान्ति प्रक्रियामा ल्याई राजनीतिको मूलधारमा समेट्ने र संविधान जारी गर्ने काम कांग्रेस नेतृत्वकै सरकारले गरेको दाबी गरे।
कांग्रेस बुथ सभापति राजदेव यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेस क्षेत्रीय सभापति महमद साहबुदिन, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, प्रेमचन्द्र कुशवाहा, प्रमोद कुशवाहा लगायतको सहभागिता रहेको थियो।

