माघ १३ – बर्दियाका गेरुवा र राजापुर नगरपालिकासहित जिल्लाका आठवटा स्थानीय तहका विपद् फोकल पर्सन तथा सूचना प्रविधि व्यवस्थापनसँग सम्बन्धित कर्मचारीहरूलाई विपद् पोर्टल स्थानीयकरण सम्बन्धी तालिम प्रदान गरिएको छ। जिल्ला तथा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रतिनिधिहरूको समेत सहभागितामा दुई दिनसम्म सञ्चालन गरिएको तालिममा विपद् पोर्टलमा तथ्यांक प्रविष्ट गर्ने प्रक्रियाबारे अभ्यास गराइएको थियो।
तालिमका क्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विकास गरेको ‘जियो हजार्ड मोड्युल’ सम्बन्धमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो। उक्त मोड्युलमार्फत सम्भावित विपद् जोखिमको पूर्वानुमान तथा विश्लेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा उपस्थित बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले विपद् पोर्टलमा अद्यावधिक हुने तथ्यांकले स्थानीय तहमा प्रभावकारी निर्णय लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले स्थानीय तहका तथ्यांकहरू नियमित रूपमा प्रविष्ट गर्न यो तालिमले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वय तथा सजग समाज परियोजनाअन्तर्गत CARE Nepal, IHRR र KMJS को सहयोगमा उक्त तालिम कार्यक्रम गुलरियामा आयोजना गरिएको हो।

