भदौ २२ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामाजिक सञ्जाल पोस्टमाथि दिएको व्यंग्यात्मक प्रतिक्रियाले राजनीतिक वृत्तमा नयाँ प्रश्न उठेको छ।
प्रचण्डले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारले चालेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको स्पष्ट पारेका थिए। तर, सोही पोस्टमा बालेनले “एकादेशमा टिकटक पनि बन्द भएको थियो” भन्दै टिप्पणी गरेपछि विवाद चर्किएको हो।
बालेनको भनाइले प्रचण्डकै अडानमाथि प्रश्न खडा गरेको धेरैको बुझाइ छ। किनभने प्रचण्ड प्रधानमन्त्री रहेका बेला नै सरकारले टिकटकलाई नेपालमा प्रतिबन्ध लगाएको थियो।

यसरी, सामाजिक सञ्जाल बन्दप्रतिको प्रचण्डको ताजा विरोध र बालेनको व्यंग्यात्मक प्रतिक्रियाले पुनः नेपालमा अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार र सरकारी हस्तक्षेप सम्बन्धी बहसलाई उकासेको छ।

