पर्सामा मोटरसाईकल चोरीको घटनामा वृद्धि, नियन्त्रणमा पर्सा प्रहरी असफल
२० फागुन,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ चिलझप्टीबाट गएराति संचारकर्मी सतेन्द्र यादवको मोटरसाईकल चोरी भएको छ । वीरगन्जबाट चिलझप्टीमा जन्ती गएको बेला सञ्चारकर्मी यादवले पार्किङ्ग गरिराखेको पल्सर मोटरसाईकल चोरी भएको हो । रामदिनेश प्रसाद यादव ऋणी रहेको र सतेन्द्र यादवले चढेकको ना ५९ प ८५२९ बजाजको पल्सर १५० सीसीको कालो मधुरो रातो रङ्गको मोटरसाईकल चोरी भएको छ । चोरी भएको मोटरसाईकल खोजी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइएको संचारकर्मी यादवले बताउनुभयो ।
सञ्चारकर्मीहरुकै मोटरसाईकल लगातार चोरी हुन थालेपछि नागरिकले थप असुरक्षित महशुस गरेका छन् । चोरीको घटना सामाजिक सञ्जालमा राख्दा पत्रकारको पनि मोटरसाईकल चोरी हुनथालेपछि आम नागरिकको के सुरक्षित रहलाँ भन्ने प्रश्नहरु उत्पन हुछन् । कतिपयले प्रहरीसँगको मिलेमतो नभई यस्तो हुन नसक्ने समेत दावी गरेका छन् ।
गएको कार्तिक १८ गते वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफ.एम.अगाडि मुख्य सडकमा पार्किङ गरि राखिएको ना ५० प ९३२९ नम्बरको सुजुकी कम्पनीको जिक्सर मोटरसाईकल बिहान ८ः३९ बजेको समयमा चोरी भयो । चोरी भएको मोटरसाईकल एफ.एमका सम्पादक निरज पिठाकोटे मगरको हो । उक्त दिन नारायणी एफ.एम.को १८ औं बर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रममा सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो । एफ.एमका सबै कर्मचारी कार्यक्रममा व्यस्त रहेको बेलामा चोरी भएको घटना बिहान ११ः३० बजेतिर मात्रै थाहा भयो । तत्काल प्रहरीलाई खबर गरेपछि अपराध अनुसन्धानका प्रहरी कार्मचारीले सीसीटीभी क्यामेराको फुटेज हेरेर गए ।
प्रहरीले पनि विशेष अनुसन्धानका लागि प्रहरी खटिएको निरन्तर जानकारी दिई रहेको छ । चोरीको घटना भएको ३ महिना भएको छ । तर, अहिलेसम्म उक्त मोटरसाईकल प्रहरीले फेला पार्न सकेको छैन ।