ब्लड बैंक वीरगंजबाट जगरनाथपुर गाउँपालिकाको जनताले निःशुल्क रगत पाउने

ब्लड बैंक वीरगंजबाट पर्साको जगरनाथपुर गाउँपालिकाका जनताले अब निःशुल्क रगत पाउने भएका छन ।पालिकाको जनतामा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अन्तर्गत  पालिकाले आफ्नो जनतालाई बिरामी अवस्थामा रगत आवश्यक हुंदा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरिएको पालिका अध्यक्ष श्रीकान्त यादवले बताउनुभयो ।

रेडक्रस सोसाईटी पर्सा शाखाको कार्यालयमा आयोजित एक कार्यक्रम शाखा सभापति बिरेन्द्र राज कडेल र पालिका अध्यक्ष यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकाको सिफारिसको आधारमा रक्तसंचार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउनु पर्ने छ ।

रगत उपलब्ध गराएको बापत लागेको शुल्क पालिकाले बेहोर्ने सम्झौता भएको रेडक्रस पर्सा शाखाका सभापति कडेलले जानकारी दिनुभयो । सम्झौता हस्तान्तरण कार्यक्रममा रेडक्रस पर्साको मन्त्री शैलेन्द्र कुमार चौरसिया‚ कोषाध्यक्ष महन्त प्रसाद यादव‚ सदस्य दिनानाथ रौनियार र जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय‚ स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साह कानुको उपस्थिति रहेको रेडक्रस पर्साका नि. कार्यालय प्रमुख बिरशमसेर कुर्मीले जानकारी दिनुभयो  ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close