ठक्करपछि छटपटाइरहेका किसानलाई बाटोमै छोडी फरार रहेका चालक सुमोसहित पक्राउ ।

वीरगञ्जमा एक वृद्धलाई टाटा सुमोले ठक्कर दिएर घाइते बनाई फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले टाटा सुमोका चालक पर्साको बहुदरमाई नगरपालिका ७ विश्रामपुर टोल बस्ने २१ वर्षीय अलाउदिन अन्सारीलाई पक्राउ गरेको हो ।
गत साउन ५ गते अन्सारीले चलाएको ना १ ज १९२१ नम्बरको टाटा सुमोले वीरगञ्ज महानगरपालिका २४ स्थित सोही स्थान बहुअरी टोल बस्ने ७० वर्षीया वृद्ध शिवदयाल राउन अहिरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका यादवलाई छटपटाइरहेको अवस्थामा चालक अन्सारी सुमोसहित फरार भएका थिए ।
घाइते वृद्धलाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएकोमा उनको त्यसको भोलिपल्ट मृत्यु भएको थियो । वृद्धको मृत्युपछि स्थानीयले चालकलाई पक्राउ गर्न माग गर्दै सडकमा टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।
खोजतलासको क्रममा फरार रहेका चालक अन्सारीलाई वीरगञ्ज महानगरपालिका १९ विन्दवासिनी चोकबाट गाडीसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहलाद कार्कीले जानकारी दिए । पक्राउ परेका उनलाई सवारी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए।