वीरगञ्जको श्री राम अस्पतालले साउन १ देखि निशुल्क प्रसुती सेवा दिने

वीरगञ्ज – वीरगञ्जको विर्तामा रहेको श्री राम हस्पिटलले आउँदो साउन १ गतेदेखि निशुल्क प्रसुती सेवा उपलब्ध गराउने भएको छ ।

आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै अस्पतालले निशुल्क प्रसुती सेवा सुरु गर्न लागेको हो ।

सुुरक्षित र निःशुल्क प्रसुती गराउन स्वास्थ मन्त्रालय परिवार कल्याण महाशाखाले वीरगञ्ज स्थित श्री राम हस्पिटललाई आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरेपछि आउदो साउन १ गतेदेखि अस्पतालले याे सेवा सुरु गर्न लागेको अस्पतालकी सञ्चालिका डा.प्रिती यादवले जानकारी दिइन् ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजीक विकाश महाशाखाले मन्त्रालयको निर्देशन अनुसार श्री राम अस्पतालसँग सम्झौता गरेपछि सेवा सुरु गर्न लागिएको उनले बताइन् ।

अस्पतालमा विशेषज्ञ चिकित्सकबाट समान्य र जटिल प्रसुती सेवा एवं शल्यक्रिया द्वारा गरीने प्रसुती सेवा समेत निःशुल्क गर्ने गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न आमा सुरक्षा कार्यक्रम सुरु गरीएको अर्का सञ्चालिका डा.दिप्ती यादव बताउँछिन् ।

आमा सुरक्षा कार्यक्रममा उल्लेख गरिएका सेवा सुबिधा दिन आफ्नो अस्पताल प्रतिबद्ध रहेको पनि उनले बताइन् ।

अस्पतालले प्राप्त गरेको यो कार्यक्रमबाट पर्सा, बारा, रौतहट लगायत विभिन्न स्थानका सेवाग्राहीले सुलभ रुपमा सहज सेवा प्राप्त गर्ने डा.यादवले जानकारी दिइन् ।
५० बेड क्षमता भएको श्रीराम अस्पतालले प्रस्तुति सेवासँगै अन्य उपचार सेवा अहिले पनि प्रदान गरिरहेको उनले जानकारी दिइन् ।

के हो आमा सुरक्षा कार्यक्रम ?
सरकारले २०६५ सालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका’ जारी गरेर मातृ मृत्युदर कम गर्नका लागि यो कार्यक्रम लागू गरेको हो ।

नेपालमा उच्च रहेको मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले प्रसूति सेवालाई निःशुल्क रुपमा प्रदान गर्न कार्यक्रम ल्याइएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

नेपालमा संस्थागत प्रसूति दरमा सुधार ल्याई मातृ मृत्युदरमा कमी ल्याउन र संस्थागत प्रसूतिको सहस्राब्दी विकास लक्ष्यको धेरै नजीक पुग्न आमा सुरक्षा कार्यक्रमको भूमिका रहेको छ ।

आमा सुरक्षा कार्यक्रम लागू भएपछि संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भजाँच गराएको (चार पटक)को रु ८००, यातायात खर्च तराईमा एक हजार, पहाडमा दुई हजार र हिमालमा रु तीन हजार पाउने छन् । यस्तै, सामान्य सुत्केरी एक हजार ५०० र अस्पतालमा भए तीन हजार तथा शल्यक्रियाबाट सुत्केरी भए रु सात हजार सुविधा पाउने गर्दछन् । आमा सुरक्षा कार्यक्रमबापत सुत्केरी खर्च सरकारले व्यहोर्ने गर्दछ ।

सरकारी अस्पतालमा सरकारी अस्पतालले र निजी अस्पतालले सोधभर्ना रकम पाउने गर्दछन् । मातृमृत्यु अनुपात कम गराउनका लागि आमा सुरक्षा कार्यक्रम शुरु गरिएको हो ।

यो कार्यक्रम शुरु भएपछि धेरै महिला अहिले सुत्केरी गराउन अस्पताल आउने गरेका छन् । अझै पनि केही दुर्गम क्षेत्रका महिलामा चेतनाको कमी र यातायातको कारणले घरमै सुत्केरी हुने गरेको घटनाहरु सुन्न पाइन्छ ।

सरकारले दिगो विकासको लक्ष्यअनुरुप सन् २०३० सम्ममा नेपालमा मातृ मृत्यु ७० जना प्रतिलाख जीवित जन्म र नवजात शिशुको मृत्युदर १२ जना प्रतिहजार जीवित जन्ममा झार्ने उद्देश्यका साथ यो कार्यक्रम चलाइरहेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close