वन तथा वातावरण मन्त्री प्रदीप यादवले भने यस्तो काम गर्नेछु कि सारा नेपालीले ताली बजाउनेछन्

वीरगञ्ज, २५ अषाढ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले संघ र प्रदेशको निर्वाचनमा पर्सा जिल्ला जसपाको कब्जामा हुने दावी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले नवनियुक्त बन मन्त्री तथा पर्सा जिल्लामा निर्वाचित भएका जसपाका जनप्रतिनिधीहरुको लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सदियौँदेखि पिछडिएको पर्सा जिल्लाले कहिलै अवसर नपाएको बताए ।

मन्त्री देशको भएपनि आफ्नो धरातल कहिलै नबिर्सिनु भन्दै यादवले पर्साबासीलाई धन्यवाद दिन र आशिर्वाद लिनका लागि वीरगञ्जको आएको बताए । उनले भने, “मलाई वीरगञ्जबासीसँग भेट्ने खुलदुली थियो, तपाईहरुको माया र साथका लागि धन्यवाद भन्नु थियो । त्यसैले म तपाईहरुलाई धन्यवाद भन्न र मन्त्रालयको काम गर्नुभन्दा अघि आशिर्वाद लिन वीरगञ्ज आएको हुँ ।

बिकासको मामिलामा कुनै पनि सरकारले ध्यान नदिएको र सुनको अण्डा दिने पर्सा जिल्लालाई ३ महिनाभित्र ठूलो उपहार दिने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरेका छन् । यादवले भने, “हुन त बन मन्त्रालय कुनै बिकासे मन्त्रालय हैन, खाली गाली खाने मन्त्रालय हो, तर म आफ्नो कार्यकालमा यस्तो काम गर्नेछु कि सारा नेपालीले ताली बजाउनेछन् ।”

चुनावको मुखमा मन्त्री बनेको बताउँदै प्रधानमन्त्री, भौतिक पूर्वाधार, अर्थ लगायतका अन्य बिकासे मन्त्रालयसँग समन्वय गरेर भएपनि पर्सा जिल्लामा बिकास गर्ने उनको दावी छ ।

जिल्लाका सबै सडकको डिपिआर बनाएर टेण्डर गर्नुका साथै पर्यटनको बिकासका लागि वीरगञ्जमा चिडियाखाना बनाउने मन्त्री यादवको भनाई छ । भिस्वा डाँडा, बिन्दवासिनी मन्दिर लगायतका शक्तिपिठ मन्दिरको डिपिआर बनाउनुका साथै आवश्यक पर्ने बजेट पनि ल्याउने विश्वास पनि उनले दिलाएका छन् ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जसपाका केन्द्रीय सदस्य बालकिशोर यादव, फिरोज मन्सुर, जनार्दन यादव, जिल्ला समन्वय समितिका प्रमुख अजय सर्राफसहित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ईश्वरचन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close