सरकारले धान दिवस मनाइ रहदा पर्सामा ८० प्रतिशत खेत बाँझै

वीरगन्ज,१५असार : लोक मान्यता अनुसार असार १५ मा धान रोपाइ सकाएर खुशीयालीमा किसानले दहि चिउरा खाने प्रचलन छ । असार १५ का दिन देशभर धान दिवस पनि मनाइन्छ छ । तर यो वर्ष मध्य असार सकिदा अर्थात असार १५ गते भइ सक्दा पनि पर्सामा धान रोपाइ नहुदा ८० प्रतिशत खेत बाँझै रहेको छ ।

सिंचाइ र मलको अभावका कारण पर्सामा असार १५ गते सम्म २० प्रतिशत मात्र रोपाइ भएको र ८० प्रतिशत खेत बाँझै रहेको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताए ।

उनका अनुसार ,बुधबार असार १५ मा धान दिवसको अवसरमा केन्द्रले पनि पर्साको पर्सागढी नपा ३ बिरुवागुठी स्थित एक किसानको खेतमा धान रोपाइ कार्यक्रम गरेर औपचारिक रुपमा धान दिवस मनाएको छ ।तर जिल्लाभरमा बुधबार सम्म २० प्रतिशत मात्र रोपाइ हुन सकेको उनले बताए । जिल्लाको उत्तरी भेगमा १५ प्रतिशत र दक्षिणी भेगमा भने ५ प्रतिशत मात्रै रोपाइ हुन सकेको उनले जानकारी दिए ।

केन्द्रका अनुसार , पर्सा जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा धानको खेती हुने गरेको छ । त्यो मध्ये चैतेधानको खेती ३ हजार ५० हेक्टर र बाँकी ४४ हजार ८० हेक्टरमा अगहनी (मंसिरे ) धानको खेती हुने गरेको केन्द्र प्रमुख मुनिलालले बताए ।

पर्सामा आकाशे पानी र गण्डक नहरको पानीको भरमा किसानले धानखेती गर्र्दै आएका छन् । तर यसपाली वर्षा पनि समयमा नभएको र गण्डक नहरमा पनि नहरको दुइ वटा पुल मर्मत जारी रहेका कारण सिंचाइको अभावले किसानले धान रोपाइ समयमै गर्न नपाएका हुन् ।

दुइ दिन यता वर्षा भइरहेको भएपनि ब्याडमा बेर्ना तयार भइ नसकेका कारण धानको रोपाइ चाहे जति हुन नसकेको उनले बताए ।मुनिलालले भने ,‘ एक त समयमा पानी नै परेन , जसका कारण किसानले समयमा बीउ ब्याडमा राख्न पाएनन् , अहिले दुइ दिन यता वर्षा भएपनि बेर्ना नै तयार भइसकेको छैन ।रासायनिक मलको अभाव हुदा पनि किसानले समयमा ब्याडमा धानको बीउ राख्न नपाएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close