वीरगञ्जको आइसिपी हुँदै भारत पुगेको ट्यांकरबाट ५२६ किलोग्राम गाँजा बरामद, दुईजना पक्राउ
वीरगञ्ज, ९ अषाढ । नेपालबाट गएराती भारतका लागि निस्केको एउटा ट्यांकरबाट भारतीय प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार वीरगञ्जको अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) बाट पास भएर भारतको बरौनी तर्फ जाँदा गरेको ट्यांकरबाट भारतीय प्रहरीले लगभग ५ सय २६ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीले ना ७ ख ३७०५ नम्बरको ट्यांकरमा फल्स कम्पार्टमेन्ट बनाएर ३७ वटा बन्डलमा बेरिएको ५ सय २६ किलोग्राम गाँजासहित भारतीय प्रहरीले दुई जना नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरुको पहिचान प्रहरीले खोलेको छैन ।
बरामद गरिएको गाँजाको बजार मूल्य करोडौँमा रहेको भारतीय प्रहरीको दावी छ ।
नेपालबाट ठूलो मात्रमा गाँजा एउटा ट्यांकरमा लुकाएर भारतको दक्षिण पूर्व क्षेत्र तर्फ लग्न लागिएको विशेष सूचनाको आधारमा भारतीय प्रहरी र कस्टमले संयूक्त अप्रेसन चलाएर ट्यांकरलाई गएराती लगभग ११ बजे रक्सौलको आइसिपी अन्तर्गत पर्ने पर्ने बाइपास सडकखण्डमा रोकेर चेकजांच गर्दा गाँजा बरामद भएको थियो ।
नेपालको आइसिपीमा कडा जाँच हुँदाहुँदै यत्रो ठूलो मात्रमा गाँजा सहजै भारत पुग्नु अहिले चर्चाको विषय बनेको छ । भारतीय प्रहरीले पनि यस विषयमा अनुसन्धान अगाडि बढाएको बताईएको छ ।