पर्सामा पनि ५ देखि ११ वर्षका बालबालिकालाइ कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु

वीरगन्ज, ०९ असार : पर्सा सहित देशभर बिहीबार देखि ५ देखि ११ बर्ष सम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु गरिएको छ ।

 

पहिलो चरणमा पर्सा सहित २७ जिल्लामा बिहीबार देखि असार १५ गतेसम्म पहिलो डोज खोप दिइनेछ भने दोस्रो डोज आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ ।बाँकी ५० जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो डोज र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोजको खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

पर्सामा पनि स्वास्थ्य कार्यालय पर्साले जिल्लाभरका उक्त उमेर समुहका बालबालिकाको लागि बिहीबार देखि फाइजर खोप लगाउन थालेको हो ।

१४ वटै पालिकाका सामुदायिक र संस्थागत विद्यालयमा खोप केन्द्र स्थापना गरि बिहीबार देखि शुरु खोप अभियान असार १५ गते सम्म चल्ने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।यो अभियानमा पर्सा जिल्लाका १ लाख १ हजार ७५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको ठाकुरले बताए।खोप लगाउनका लागि ४०२ जना स्वास्थ्यकर्मी र स्वंयसेविका खटाइएको उनले बताए।

स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले फाइजर खोपको प्रभावकारीता ९१ प्रतिशत रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाइ आग्रह गरेका छन्  ।उनले यो अभियानमा ५ देखि ११ बर्ष सम्मका उमेर समुहका कोहि पनि बालबालिकालाइ नछुटाउन आग्रह पनि गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close