ठोरी १ मा फुयाँलको चौतर्फी चर्चा, युवालाई जिताउने स्थानीयको भनाई
पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार हुन् नवराज फुयाँल । रेडियो वीरगञ्जबाट सञ्चार जगतमा पाइला टेकेका फुयाँल राष्ट्रियस्तरको उँज्यालो अनलाईनको जागिर छोडेर गाउँमै फर्किए । वीरगञ्जस्थित एक रेडियोमा महाप्रबन्धक भएर काम गरीरहेका फुयाँल पत्रकारितामार्फत लेखेका र उठाएका भुई मान्छेका समस्या तथा एजेण्डालाई समाधान गर्न चुनावी मैदानमा होमिएका छन् ।
सामान्य परिवारमा जन्मिएर अभाव र समस्याबाट गुज्रिदा गरेको संघर्षकै परिणामस्वरुप आज उनी सक्षम एवम् योग्य उम्मेदवारको रुपमा पार्टीले र वडाबासीले पत्याएका छन् । गाउँमा शिक्षित एवम् बिकासको भिजन नभएका जनप्रतिनीधिहरु हुँदा संघियताको आभाष जनताले गर्न नपाएको भान भएपछि फुयाँल वडाअध्यक्षको उम्मेदवारी दिने निधोमा पुगे । नेपाली कांग्रेस वडा कमिटीले पनि शिक्षित एवम् समाज बुझेका फुयाँल बाहेक कोही उत्तम उम्मेदवार हुन नसक्ने निक्र्याैल गरेपछि सम्भवतः नेपाली कांग्रेसबाट सबैभन्दा पहिला निर्विवाद रुपमा घोषणा हुने उम्मेदवार पनि फुयाँल नै होलान् ।
वडालाई समृद्ध बनाउन र वडाबासीले गरेको आशालाई सार्थकतामा बदल्न कुनै कसर बाँकी नराख्ने फुयाँलको प्रतिबद्धता छ । १ दशकभन्दा लामो समय पत्रकारितामार्फत उठाइएका एजेण्डाहरुको सम्बोधन अब नेतृत्वदायी भूमिकाबाट गर्ने उनको योजना छ । फुयाँल भन्छन्, ‘कलममार्फत धेरै समस्याहरुको उठान गरियो । सरोकारवालालाई खबरदारी पनि नगरेको हैन । तर वडाबासीको माग र आवश्यक्ताका आधारमा आफैले वडाको मुहार फेर्ने सोच बनाए ।’ उनी थप्छन्, ‘अब पढेलेखेका युवाहरु राजनीतिमा आउन जरुरी छ । पछिल्लो समय राजनीतिलाई फोहोरी खेलको रुपमा पनि परिभाषित गर्ने गरेका छन् । अब त्यो परिभाषालाई हामी जस्ता युवाले नै परिवर्तन गर्नुपर्छ ।’
नेपाली कांग्रेस वडा नम्बर १ का बुथ सभापति तिलक बहादुर रिमालले फुयाँलजस्तो शिक्षित एवम् सक्षम उम्मेदवार पाउनु पार्टीका लागि पनि गौरवको कुरा भएको बताउँछन् । फुयाँलको उम्मेदवारी टुंगो नलाग्दा सम्म अरु पार्टीले जित्ने डर भएपनि फुयाँल आएपछि आफ्नै पार्टीको जित सुनिश्चित भएको रिमालको दावी छ । शिक्षित तथा सक्षम एवम् जोश र जाँगरसहितको युवा उम्मेदवार भएकाले फुयाँलले नै जित्नुपर्ने स्थानीयको प्रतिक्रिया छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति बृहस्पतिकृष्ण श्रेष्ठले पनि बुथ सभापति रिमालको भनाईमा सहमती जनाउँदै हरेक वडामा फुयाँलजस्तै योग्य र सक्षम उम्मेदवार आउनुपर्ने बताउँछन् ।