सरकारले शिक्षक महासङ्घलाई फेरि वार्तामा बाेलायाे

काठमाण्डाैमा प्रदर्शन गर्दै आएको नेपाल शिक्षक महासङ्घलाई सरकारले फेरि वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति निकालेर शिक्षक महासङ्घलाई वार्ता र संवादमा आउन आग्रह गर्नुभएको हो ।
यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासङ्घ गएको थिएन । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन् । चैत २० गतेदेखि माइतीघर–बबरमहल क्षेत्रमा शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । महासङ्घले हिजोदेखि शैक्षिक हडतालसमेत घोषणा गरेको छ ।
शिक्षकहरूले आज दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।