रवि लामिछानेलाई पोखराबाट रुपन्देही पुर्‍याएर बयान लिन शुरू

२७ कात्तिक  २०८१

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही पुर्‍याएको छ । आज बिहान पोखराबाट हवाईजहाजमार्फत प्रहरीले लामिछानेलाई भैरहवा हुँदै बुटवल पुर्‍याएको हो ।

सहकारी ठगी, सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न लामिछानेलाई भैरहवा ल्याइएको रुपन्देही प्रहरीले जनाएको छ । लामिछानेलाई भैरहवा पुर्‍याउँदा विमानस्थलबाहिर ठूलो सङ्ख्यामा समर्थक र सहकारी पीडित जम्मा भएका थिए । सम्भावित झडप रोक्न ठूलो सङ्ख्यामै प्रहरी परिचालन भएका छन् ।

लामिछाने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । उनलाई रुपन्देहीको सुप्रिम सहकारीको रकम पनि अपचलन गरेको आरोप लागेको छ ।

रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी रहेको र बढीमा तीन दिनमात्र रुपन्देहीमा राख्ने योजना रहेको बताउनुभएको छ । अहिले सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको संसदीय छानविन समितिले उल्लेख गरेको थियो । लामिछानेलाई यही कात्तिकको २ गते काठमाण्डौबाट पक्राउ गरेर पोखरा पुर्‍याएको प्रहरीले अदालतबाट चौथो पटक पनि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close