भवन बने पनि वडा कार्यालय भाडामै, स्थानीय असन्तुष्ट

महेश सिंह . लहान

सप्तरीको सुरुङ्गा नगरपालिका–६ : भवन निर्माण सम्पन्न भए पनि भाडाको घरमै कार्यालय सञ्चालन, जनताको पैसाको दुरुपयोग भएको स्थानीयको आरोप

सप्तरी – सुरुङ्गा नगरपालिका–६ का जनप्रतिनिधिहरूले नगरपालिकाको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको अवस्थामा पनि भाडाको घरमा कार्यालय सञ्चालन गरिरहँदा जनतामा असन्तुष्टि बढेको छ। स्थानीयवासीले दुई वर्षदेखि कार्यालयले मासिक १६ हजार रुपैयाँ भाडा तिर्दै आइरहेको तर विकास निर्माणमा खर्च गर्नु पर्ने रकम यसरी अनावश्यक रूपमा खर्चिनु जनप्रतिनिधिहरूको गैरजिम्मेवार व्यवहार भएको आरोप लगाएका छन्।

वडा कार्यालयको भवन करिब दुई वर्षअघि नै तयार भइसकेको भए पनि वडा कार्यालयलाई उक्त भवनमा सारिएको छैन। नगरको पछिल्लो सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष दिनेश रामले नगर प्रमुख गीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुनिल पासवानलगायतका नगरका पदाधिकारीहरूको उपस्थितिमा चाँडै नै कार्यालय सारिने बताएका थिए। तर, समय बित्दासमेत कार्यालय सार्ने प्रक्रिया अघि नबढेपछि स्थानीयबासीले असन्तोष व्यक्त गरेका छन्।

स्थानीयको गुनासो : जनताको पैसाको दुरुपयोग पूर्व वडा अध्यक्ष लिला कान्त चौधरीले यस विषयमा जनताको पैसाको गैरजिम्मेवार प्रयोग भएको भन्दै आलोचना गरेका छन्। उनका अनुसार, विकास निर्माण र जनसेवामा खर्चिनुपर्ने रकम दुई वर्षमा करिब ४ लाख रुपैयाँ भाडामा खेर गइरहेको छ। उनले वडा कार्यालय नयाँ भवनमा सार्न नसक्नु जनप्रतिनिधिहरूको असक्षमता र जनताको विश्वासको दुरुपयोग भएको टिप्पणी गरे।

उनले समस्या समाधानका लागि प्रयास जारी रहेको बताए। “मैले जग्गा मालिक विश्ववती साहलाई पटक–पटक समन्वयका लागि अनुरोध गरेको छु। हामी बाटोको समस्याको समाधान हुनेबित्तिकै भवनमा कार्यालय सार्नेछौं,” अध्यक्ष रामले भने। उनले जनताको रकम अनावश्यक रूपमा मास्न नचाहेको र आफूसमेत चाँडो समस्याको हल खोजिरहेको स्पष्ट पारे। स्थानीयको आरोप : राजनीतिक दबाबका कारण ढिलाइ वडा अध्यक्षले भनेजस्तो मात्र समस्या नभएको र राजनीतिक दबाबका कारण पनि कार्यालय नयाँ भवनमा सार्न ढिलाइ भएको स्थानीयको आरोप छ। स्थानीयवासीहरूको भनाइमा, जनप्रतिनिधिहरूको स्वार्थपूर्ण राजनीति र आर्थिक प्रलोभनका कारण जनतालाई भाडामा कार्यालय सञ्चालन गरेर सास्ती दिइएको छ।

“जनताका लागि बनाएको भवनमा कार्यालय नसराउने, भाडामा घर लिएर जनताको करको रकम दुरुपयोग गर्ने? यो कुरा हाम्रो लागि अस्वीकार्य छ,” एक स्थानीयले भने। वडा अध्यक्ष रामले भने आफूले राजनीतिक दबाबमा निर्णय नगरेको र व्यक्तिगत लाभका लागि जनताको रकम अनावश्यक रूपमा खर्च नगरेको बताए। “जनताको विश्वासलाई म सम्मान गर्छु। तर, यो समस्या कानुनी पेचिलो भएकाले तत्काल समाधान निकाल्न सकिएको छैन,” उनले भने।

अन्योलमा स्थानीयवासी यस विवादास्पद विषयले स्थानीयवासीलाई अन्योलमा पारेको छ। जनताको सुविधाका लागि निर्माण गरिएको भवनमा कार्यालय नखुलेपछि यसले उनीहरूमा अविश्वास बढाएको छ। स्थानीयहरूले समस्या चाँडो समाधान गरि कार्यालयलाई आफ्नो भवनमा सार्न नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका छन्। सार्वजनिक सेवाका लागि बनाइएको संरचना पूर्ण रूपमा तयार हुँदा पनि जनतालाई भाडामा कार्यालय सञ्चालन गरेर सास्ती दिइनु र विकासमा खर्चिनुपर्ने रकम अनावश्यक रूपमा खेर फाल्नु स्थानीयहरूले सहन नसकिने बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close