सगरमाथा नजिकैको गोक्यो तालको यात्रा
नियमित यात्रा भ्लगर युट्युब च्यानलमा हेर्न रुचाउने मलाई लकडाउनको समयमा एकसाँझ घुमन्तेको चोला सर्किट यात्राले मन धेरै छोयो । त्यसमा पनि गोक्यो ताल र गोक्योरी पिकको यात्रा वर्णनले त्यो ठाउँ पुगेरै छोड्ने वर्षाैंदेखिको योजना थियो । पर्यटन व्यवसायी धेरै मित्रहरूसँग सगरमाथा क्षेत्रको उपयुक्त गन्तव्य कुन हो भनी सोध्दा धेरै मित्रहरूले गोक्यो क्षेत्र नै उपयुक्त रहेको सुझावलाई मान्दै यस वर्ष त्यो ठाउँमा पुग्ने लक्ष्य राखियो । भ्रमणका लागि दशैँ तिहारको बिदा नै उपयुक्त समय ठानी दशैँ अगाडि नै भ्रमणको योजना बन्यो ।
शुरूमा म र मेरो जीवनसङ्गिनी मात्र जाने योजना रहे पनि एकदिन पत्रकार तथा व्यवसायी मित्र डिबी खालिङसँग मैले भ्रमण प्रस्ताव राखेँ, उहाँले सहर्ष स्वीकार्दै दशैँ सकिने बित्तिकै जाऔँ भन्ने प्रस्तावअनुरूप हामी तयारीमा जुट्यौँ । घर, ससुराली सबैतिर मान्यजनसँग भेटघाट गरी दशैँ मनाएर टीकाको तेस्रो दिन सदरमुकाम सल्लेरीबाट गाडीमार्फत खुम्बुपासाङल्हामु गाउँपालिकाको थामडाँडासम्म जाने गरी बिहान ५ बजे नै यात्रा शुरू भयो । गाडीले खुम्बु क्षेत्रलाई जोडेसँगै यात्रामा केही सहजता थपिएको थियो, भर्खरै हिमताल फुटी माप्य खुम्बु मितेरी पुललाई समेत क्षति पुर्याएको हुदाँ हामी माप्य क्षेत्रलाई छोडेर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्दुको बाटो भएर छिर्दी हुँदै जाँदै थियौँ । सल्लेरीबाट जाने गाडी यही ठाउँसम्म मात्र जाने रहेछ, पक्की सडक र पुल निर्माणको चरणमा रहेकाले पारी गएर गाडी परिवर्तन गर्नुको विकल्प थिएन । सल्लेरीदेखि झन्डै ९ घण्टाको यात्रापछि थामडाँडा पुग्यौँ । सडक सञ्जालले सुर्केसम्म छुन लागे पनि मनसुनी वर्षाका कारण यहाँबाट गाडी अगाडि जाने अवस्था भएन । हामीले थामडाँडामा खाना खाएपछि पैदल यात्रा शुरू गर्यौँ । थामडाँडाबाट पैया, छेउबास, सुर्के हुँदै बेलुकी साढे ७ बजेतिर चौरीखर्क पुगेर मेरा मित्र दण्डी शेर्पाले बुकिङ गरेको टुरिस्ट गेस्ट हाउसमा बास बस्यौँ । धेरै समयपछिको लामो हिँडाइका कारण हामी थाकेका थियौँ । मेरी श्रीमती रुपालाई रुघाखोकी लागिरहेको थियो, औषधि खाँदै भए पनि उनले यात्रा गरिरहेकी थिइन् । डिबीजी र निसा बहिनी पनि यात्राले थकित हुनुहुन्थ्यो । समयमै खाना खाएर आराम गर्यौँ ।
बिहान ६ बजे उठेर दोस्रो दिनको यात्रा शुरू गर्नुअघि नुन चिया र चम्पा (सातु) खायौँ । पर्यटकीय सिजन भएकाले लुक्लाबाट आउने पर्यटकहरूको बाटोमा बाक्लो भीड थियो । सामान ओर्सान खच्चड पनि निकै सङ्ख्यामा थिए । चौरीखर्कबाट वरिपरिका थामसेर्कु, कोङ्दे हिमाल नियाल्दै दूधकोशी नदीको किनारै किनारका बस्तीहरू– ठाडोकोशी, घाट, फाग्दिङ हुँदै टोकटोक सुन्दर झरनाकै काखमा रहेको केशर दाइको होटलमा पुगी कफी पिएर अघि बढ्यौँ । छुमामा पुगी मित्र कुमारसिंह राई (सर) ले अर्डर गरेको गोकर्ण सरकोमा खाना खाएर फेरि यात्रालाई अघि बढायौँ । हिँड्दै जाँदा मोन्जो गाउँ पुग्यौँ, यहाँ मैले कक्षा १ देखि ४ सम्म पढेको थिएँ । फेरि अगाडि बढ्ने क्रममा जोरसल्लेको सगरमाथा राष्ट्रिय निकुञ्ज पोस्टबाट प्रवेश पास लिई पुरानो थापा अङ्कलसँग पनि भेटघाट गरी अघि बढ्यौँ । तावा गाउँ जोरसल्ले हुँदै नाम्चेतर्फ हामी हिँडिरहेका थियौँ । थामेमा आएको बाढीले बाटो धेरै बिगारेको रहेछ । हामी दूधकोशी नदीको किनारै किनार हिँडिरहेको थियौँ । हिलारी ब्रिजमा अहिले एभरेस्ट बन्जी शुरू भएको रहेछ । बन्जी गर्न पर्यटक झुम्मिएका थिए । पारिवारिक गफगाफ, बाटोमा पर्यटकहरूको भीडसँग रमाउँदै हामी बेलुकी ५ बजे नाम्चेबजार आइपुग्यौँ । पर्यटकीय बजार नाम्चे खुब रमाइलो देखिन्थ्यो, फर्किँदा नाम्चे घुम्ने गरी हामी बासका लागि लजतिर गयौँ । यहाँ पनि हामीलाई उनै मित्र दण्डीले व्यवस्थापन गरिदिएका थिए । उनी यस क्षेत्रमा वर्षमा १०/१२ पटक विदेशी पर्यटकहरू घुमाउन ल्याउने गर्छन् । सगरमाथा क्षेत्रको लामो अनुभवी भएकाले हामीलाई यस क्षेत्रमा बास तथा खाना व्यवस्थापन सबै उनैले गरेका थिए । नाम्चेको बसाइ सुखद रह्यो ।
भोलिपल्ट हामी डोले भन्ने ठाउँमा पुग्ने गरी बिहान ७ बजे चिया खाजा खाएर अघि बढ्यौँ । मौसम खराब भएका कारण केही देखिएको थिएन । नाम्चेबाट अलि मास्तिर निकुञ्जको पारिपट्टीबाट रहेको तेस्रो बाटो लाग्यौँ । ठाडो उकालो चढ्दा स्याङ्बोचे, खुम्जुङ निस्कनुपर्ने र लामो बाटो भएकाले हामी सहज बाटो नै रोजेर हिडँयौ । झन्डै तीन घण्टाको यात्रापछि हामी मोङडाँडा आइपुग्यौँ र खाना खान लाग्यौँ । मौसम खुलेको भए यहाँबाट आमाडब्लम हिमाल नजिकबाट देखिन्थ्यो । आज भने मौसम खराब भएकाले देख्ना पाइएन । यहाँबाट पारिपट्टी फोर्चे गाउँ र त्याङबोचे गुम्बा चाहिँ प्रस्ट देखिन्थ्यो । मोङडाँडाबाट झन्डै ४५ मिनेटको ओरालो झर्नुपर्ने रहेछ । हामी रमाइलो गर्दै, फोटो खिच्दै निकुञ्ज पोस्ट, आर्मीको पोस्ट हुँदै डोले पुग्न उकालो चढ्न लाग्यौँ । मोङडाँडाबाट झन्डै तीन घण्टामा डोले पुग्ने भए पनि हामीलाई पाँच घण्टा लाग्यौँ । झन्डै चार हजार एक सय मिटर उचाइमा रहेको यो ठाउँको बसाइ पनि निकै यादगार रह्यो । होटलमा आतिथीलाई गर्ने सत्कार उत्तिकै गजब थियो । बारम्बार विभिन्न मिडिया तथा अन्यले खुम्बु क्षेत्रमा नेपालीहरूलाई वास्ता गरिँदैन भन्ने भनाइ मलाई वाहियात लागेको थियो । सिजनको पिक आवरमा समेत हामीलाई सबै होटलले राम्रो आतिथ्यता प्रदान गरिरहेका थिए ।
यात्राको पाँचौं दिन बिहानै गोक्योरी पिक चढ्न जाने योजना बन्यो । रुपा र निसा बहिनीले टाउको दुखेर माथि जान नसक्ने बताएपछि डिबीजी र म चढ्न तयारी भयौँ । नास्ता गरेर हामी पाँच हजार तीन सय ६० मिटर उचाइमा रहेको पिक चढ्न थाल्यौँ । मौसम यस्तो खुलेको थियो कि जता हेरे पनि हिमालै हिमाल मात्र देखिन्थ्यो । विदेशी पर्यटक किन नेपाल घुम्न आउँछन् भन्ने कुरा आज हामीले अनुभूति गरिरहेका थियौँ । झन्डै डेढ घण्टाको अत्यन्तै कठिन उकालो पार गरी हामी पिकमा आइपुग्यौँ । सगरमाथालगायत आठ हजार मिटरभन्दा माथिका चार वटा हिमाल तथा अन्य आठ हजार मिटरमुनिका दर्जनौँ हिमालहरू यहाँबाट प्रस्ट देखिन्थ्यो । यहाँ आइपुग्दा हिमालको राजधानीमै पुगेको भान भइरहेको थियो । पिकबाट गोक्यो तालको दृश्य त वर्णन गरेर साध्य थिएन । नेपालमा जन्मिएपछि यो ठाउँमा नआए जन्मेको सार्थक नहोला भन्ने हामीलाई भान भएको थियो । दूधकोशी नदीको उद्गमस्थल ग्ल्यासिएर तालहरू– चोला पिक, रेन्जोला पिक यहाँबाट प्रस्ट देखिन्थ्यो ।
झन्डै एक घण्टा यहाँ बिताएर प्रशस्त तस्वीर÷भिडियो खिच्दै हामी फर्कियौँ । यहाँ आइपुगेपछि नेपालको सुन्दरता, नेपालको महत्त्व झन् बढेर आयो । मनले नमान्दा नमान्दै पनि हामी यही दिन यो ठाउँ छोडेर फर्कियौँ र मोङडाँडा आई बास बस्यौँ । यात्राको छैटौं दिन अस्ति आउँदा देख्न नपाएका आमाडब्लम, सगरमाथा, ल्होत्से, थामसेर्कु हिमाल नियाल्दै फोटो खिच्दै सातौं दिन हामी सल्लेरी नै आइपुग्यौँ । छोटो समयको यो यादगारपूर्ण भ्रमण अर्थपूर्ण रहेको भान भइरहेको छ ।