सडक बन्द भएको मौकामा हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

१३असोज २०८१

देशका धेरैजसो राजमार्ग बन्द भएको मौका छोपेर एअरलाइन्सहरूले भाडा महँगो बनाएका छन् । अहिले सबैजसो एअरलाइन्सले केही गन्तव्यमा अधिकतम भाडादर लागू गरेका हुन् ।

गएको बिहीवारसम्म काठमाण्डौ–विराटनगरको भाडा ५७ सय रुपैयाँ रहेकोमा आज १० हजार रुपैयाँसम्म पुगेको छ । यस्तै काठमाण्डौ–भैरहवाको भाडा आठ हजार पाँच सय रुपैयाँसम्म पुगेको छ । काठमाण्डौ–धनगढीको हवाई भाडा १६ हजार रुपैयाँसम्म पुगेको छ ।

काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् । अहिले हवाई टिकट नै पाउन गाह्रो भएको र अर्कोतिर महँगो भाडा तिर्नुपरेको यात्रुको गुनासो छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै पुरानै भाडामा यात्रु उडाउन आग्रह गर्नुभएको हो । उहाँले पर्यटन मन्त्रालयले पनि हवाई यात्रुका लागि र उद्धार उडानका लागि विशेष निर्णय गरेको दाबी गर्नुभएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close