उपसभामुखमाथि महाभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्नुस् : प्रमुख सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि आचरणविरुद्धको प्रस्ताव ल्याएर लोकतन्त्रमाथि धावा नबोल्न सत्तारूढ दलहरूलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समय मागेर बोलेका रास्वपा प्रमुख सचेतक परियारले संवैधानिक परिषद्‍मा बहुमत नपुग्ने भएपछि उपसभामुख रानामाथि अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोजिएको बताए ।

सञ्चारमाध्यममा उपसभामुख हटाउन सत्तारूढ दलहरूले आन्तरिक छलफल गरिरहेको बताउँदै परियारले त्यस्तो गरिएमा जनतामा जाने बताए । ‘उपसभामुखमाथि महाभियोग प्रस्ताव लोकतन्त्रका लागि अमान्य छ । संवैधानिक परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रमाथि धावा नबोल्नुस्,लोकतन्त्रलाई यसरी मासिन्छ भने जनता सडकमा उत्रिनेछन्,’ उनले भने ।

संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुख रानालाई पदबाट हटाउन पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव ल्याउन लागेको चर्चा चलेको छ । यसरी पदबाट हटाउन प्रस्ताव ल्याउने हो भने सत्तारूढ दलहरू आफूले खनेको खाल्डोमा आफैं पर्ने चेतावनी पनि परियारले दिए ।

परियारले ठूला दलहरूलाई लोकतन्त्रको उन्नत अभ्यास गर्न सुझाव दिए । लोकतन्त्रविरुद्ध गएमा जनताको साथ र सहयोगमा प्रतिवादमा उत्रिने उनको भनाइ थियो । संख्या, सत्ता र शक्तिका नाममा मात्रै सत्ता चलाउने कुरा नसोच्न उनले चेतावनी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close