सिरहाको लहान नजिकैका वनमा पोखरी निर्माण भएपछि वरपर पानीको पुनर्भरण हुन थाल्यो

२०८१ भदौ २४ 

जलवायु परिवर्तनको असरले पानीको सतह गहिरिन थालेपछि पर्यावरणीय सन्तुलन कायम गर्न सिरहाको लहानका स्थानीय बासिन्दा सक्रिय हुन थालेका छन् । पोखरी निर्माण तथा संरक्षणले एकातिर हिउँदमा भूमिगत पानीको पुनर्भरण हुने तथा अर्कोतर्फ पर्यटकीय आगमन हुन गई आयआर्जनमा सघाउ पुग्ने स्थानीयवासी बताउँछन् ।

चुरेको फेदमा पर्ने लहान नगरपालिका–१५ शोभापुरमा दुई वर्षअघि ‘कोइरालो खोला नमुना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘हात्तीदह’ लाई पोखरीको रूप दिइएपछि अहिले रमणीयस्थल बन्न पुगेको छ । तीन हेक्टर क्षेत्रफलमा फैलिएको पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् । पोखरी बनेपछि वरिपरिका बस्तीमा सुक्खायाममा पनि पानीको स्रोत बढेको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताउनुभयो ।

सिमसार क्षेत्रलाई संरक्षण गरी ठूलो क्षेत्रफलमा पोखरी निर्माण गरिएपछि हिउँदमा पनि नजिकैका बस्तीमा भूमिगत पानीको सतह घटेको छैन । पहिला पहिला ५०/६० फिट गहिरो इनार खन्दा पनि पानीको सतह भेटिन छोडेको थियो । तर पोखरी निर्माणपछि ३०/३५ फिटमुनि पानीको स्राेत देखा पर्न थालेको अध्यक्ष चौधरीले बताउनुभयो ।

हिँउदमा पानीको सतह घट्न नदिन आफ्नो सामुदायिक वनभित्र अन्य चार वटा पोखरी निर्माण गरिएका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ हेक्टर क्षेत्रफल ओगटेका पोखरीमा सिञ्चित पानीले नजिकैका भेडियाटोल, मोहनपुर, शोभापुर, बसाजोरी, डाँडाँटोललगायतका बस्तीमा भूमिगत पानीको सतह घट्न पाएको छैन ।

जलवायु परिवर्तनको असर चुरे आसपासका बस्तीमा बढी परेको देखिन्छ । हरेक ठाउँमा पानीका मुहान वर्षेनि सुक्दै गएका छन् । पोखरीले जमिनमा पानीको ‘रिचार्ज’ को काम गर्दछन् ।

तस्बिर : सुजित कुमारकाे युट्युब च्यानलबाट

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close