आफू मरेर यात्रुको ज्यान बचाउने चालक मेघनाथ विक
३१ असार २०८१
शुक्रबार बिहान मुग्लिन–नारायणगढ सडकखण्डमा दुईवटा दुःखद दुर्घटना भए । सिमलतालमा लेदोमाटोसहितको पहिरोले ६० जनाभन्दा धेरै यात्रुसहित दुईवटा बस बगायो । १७ किलो भन्ने ठाउँमा खसेको अर्को पहिरोले चाहिँ बस चालकको ज्यान गयो, ३० जनाभन्दा धेरै यात्रुको ज्यान जोगियो । आफू मरेर पनि यात्रुको ज्यान जोगाउने चालक हुनुहुन्थ्यो, नवलपरासी सुनवल-४ का ३६ वर्षीय मेघनाथ विक ।
बुटवलबाट यात्रु लिएर काठमाण्डौतर्फ गुड्दै गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १७ किलो भन्ने ठाउँमा सडक माथिबाट लेदोमाटो झरिरहेको थियो । लेदोमाटो खसेको देखेपछि चालक विकले बसको गति केही कम गर्नुभयो । त्यहीबेला एक्कासी माथिबाट खसेको ढुंगा चालक विकको टाउकोमा लाग्यो ।
बसमा रहेका यात्रुका अनुसार ढुंगाले लाग्दासमेत चालक विकले बस चलाइरहनुभयो र झन्डै ५० मिटरजति पर लगेर ब्रेक लगाउनुभयो । टाउकोमा ढुंगाले लाग्दासमेत उहाँले बस रोक्न भ्याउनुभयो । त्यसपछि उहाँको टाउकोबाट धेरै रगत बग्न थाल्यो । यात्रुले प्रहरीलाई खबर गरे । प्रहरी आएर तुरुन्त एम्बुलेन्स बोलाए र उपचारका लागि विकलाई भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा पुर्याइयो । ढुंगाले लागेर गम्भीर घाइते भएको विकको उपचारकै क्रममा ज्यान गयो । उहाँको हिजो त्रिवेणी धाममा अन्त्येष्टि गरिएको छ ।
मेघनाथको जीवनमा ठूला सपना थिएनन् । उहाँको केही महिनाअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । अहिलेलाई एउटा सानो घर बनाउने र फेरि घरजम गरी नयाँ जिन्दगी अघि बढाउने सपना मात्रै थियो । तर दाजु तेजबहादुर विकले दिएको दागबत्तीसँगै मेघनाथको सपना पनि शरीरसँगै जलेर खरानी भयो । उहाँको घरमा अब दाजुसँगै ६३ वर्षीया आमा, भाउजु र सानो भतिजो मात्रै छन् ।
मेघनाथ आफ्नो चालक पेशामा मात्रै नभई गाउँ समाजमा परिआउने हरेक खालको समस्यामा समेत सहयोगका लागि अगाडि सर्नुहुन्थ्यो । अहिले उहाँको सम्झानामा गाउँ नै शोकाकुल भएको छ । आफूबाहेक बसका सबै यात्रुको ज्यान जोगाउन सफल हुनुभएका मेघनाथ र त्यस बेलाको दुर्घटनाको क्षण सम्झिँदै छिमेकीसमेत रहेका बसका सहचालक बासु पौडेल भन्नुहुन्छ, ‘यो कस्तो दैवको नियति !’ ३६ वर्षीय विकको परिवारमा ६५ वर्षीय आमा, दाजु, भाउजु र सानो भतिजो छन् ।
नेपालमा बर्सेनि वर्षायाम र चाडपर्वमा गाडी दुर्घटना धेरै हुने गर्छन् । केहीबाहेक धेरैजसो दुर्घटनामा चालकलाई दोषी ठहराइन्छ । तर आफ्नो ज्यान बलिदान गरेर अरूको ज्यान जोगाएका मेघनाथ उदाहरण बन्नुभएको छ । यही घटना हवाई क्षेत्रसँग सम्बन्धित हुन्थ्यो भने राज्यले मरोणपरान्त सम्मान र परिवारलाई सेवा सुविधाको व्यवस्था गर्थ्याे । तर गाडी चालकलाई राज्यले बेवास्ता गर्ने गरेको गुनासो छ । आफ्नो ज्यान दिएर अरूको ज्यान जोगाएका मेघनाथलाई राज्यको तर्फबाट मरणोपरान्त भए पनि उचित सम्मान हुनुपर्ने माग भइरहेको छ ।