क्याम्पस प्रमुख हत्या घटना एक जना पक्राउ

वीरगञ्ज – बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको दुई वटा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

क्यामप्स प्रमुख हरिभुषण प्रसाद कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा बारागढी गगाउँपालिका–५ पथरा टोलमा बस्ने हरिन्दर महरा चमार रहेका छन्।

चमारले घटनामा प्रयोग भएको पेस्तोल आफ्नो बारीमा गाडेर लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले एक थान कटुवा पेस्तोल, मेड इन युएसए लेखिएको चेम्बरमा गोली लोड भएको अटोमेटिक पेस्तोल एक थान र सोमा लाग्ने एक थान म्यागजिन बरामद गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका चमारलाई ज्यानसम्बन्धी तथा हातहतियार खरखजानासम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

गत असार ३२ गते मोटरसाइकलमा कलैया आउँदै गरेका क्याम्पस प्रमुख कुशवाहालाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो।

हत्यामा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरिसकेको छ। यद्यपि कुशवाहालाई कसले गोली प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close