बल्खुमा प्रहरीले अश्रुग्यास प्रहार गर्याे
मंसिर ७, २०८०
बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेकाे छ ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ काे जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले राेकेकाे थियाे । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे हाे । प्रहरीले उनीहरूमाथि पानीकाे फाेहाेरासमेत प्रहार गरेकाे छ ।
प्रहरीले अहिले प्रदर्शनकारीलाई बल्खुमै राेकेकाे छ। आजकाे विराेध प्रदर्शनका लागि काठमाण्डाै जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र नेकपा एमाले निकट युवा सङ्घलाई तीनकुने ताेकेकाे छ ।
यसअघि बल्खुमा दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा सङ्घका कार्यकर्ताबीच झडप भएकाे थियाे । प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको थियाे ।