किस्ता र ब्याज बुझाउने अवधि थप गर्न माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन
वीरगंज ,कात्तिक १६, २०८०
बारा, पर्सा ईट्टा उद्योग व्यवसायी संघ, वीरगन्जले बैंक कर्जाको किस्ता र ब्याज बुझाउने अवधि थप गर्न माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । संघले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । आर्थिक संकटबाट गुज्रिरहको ईट्टा उद्योगले बैंंकबाट लिएको कर्जाको साँवा र किस्ता बुझाउने अवधि २०८२ असार मसान्तसम्म कायम गरिदिन ज्ञापनपत्र मार्फत माग गरेका हुन् ।
बैंक तथा वित्तीयसंस्थाहरुबाट उद्योगी व्यवसायी एवम आम सर्वसाधारणले सहज तरिकाले कर्जा नपाईरहेको, विगतमा कोभिड महामारीको असर र रेमिट्यान्समा ह्रास आउँदा प्राय भौतिक निर्माण ठप्प हुँदा विगत २÷३ वर्ष अगाडीबाट उत्पादित ईटा समेत बिक्रि वितरण हुन नसकेकोले बैंकको कर्जाको किस्ता र ब्याज बुझाउने समयावधि बढाउन माग गरेका छन् । इट्टाको माग नहुँदा उद्योग परिसरमा नै ठूलो परिमाणमा उत्पादित ईटा स्टक रहेको व्यवसायीहरुले बताएका छन् ।
ईटा उद्योगी व्यवसायीहरुमा वित्तीय संकट सृजना भएको र यस्तो अवस्थामा उद्यागीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको भाखामा नै बुझाउन नसकेको इट्टा उद्योग व्यवासायीहरुको भनाई छ । निर्माण व्यावसायीहरुले पनि काम सम्पन्न गरे बापत समयमा भुक्तानी पाउन नसकेको र अर्को तर्फ नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ मा पूँजीगत शीर्षकमा एकदमै न्यून रकम खर्च गरेको कारण भौतिक निमार्ण कार्यले गति लिन नसक्दा अपेक्षाकृत रुपमा ईटा विक्री वितरण हुन नसकी ईटा उद्योगहरुमा पूंजी अभाव भएको व्यवयीहरुले बताएका छन् ।
यस्तै अवस्था रहे आगामी दिनमा उद्योग संचालन गर्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा भनिएको छ । हालका दिनमा उद्योगी व्यवसायीहरु आर्थिक संकटको सामना गरिरहेको उनीहरुले दुखेसो गरेका छन् । बारा, पर्सामा संचालित ईटा उद्योगहरु माथि आएको आर्थिक संकटले ऋणको किस्ता तिर्न गाह्रो भएको व्यवसायीहरुको भनाई छ । यस्तो संकटपूर्ण अवस्थामा बैंकमा धितो राखिएको घरजग्गालाई बैंकले लिलामी प्रकृयाको तयारी गरीरहेको हुँदा ऋणको सवाँ र ब्याज चुक्ताको अवधी थप गर्न पहल गरिदिन अर्थ मन्त्रालयलाई हिजो ज्ञापन पत्र बुझाइएको संघले जनाएको छ ।