अहिले फ्याँकेको प्लास्टिकले धेरै पुस्तालाई असर गर्छ भन्ने बुझ्नुपर्छ
असार २८, २०८०
अहिले विश्वव्यापीरुपमा नै प्लास्टिकको प्रयोग बढेर गएको छ । दोस्रो विश्वयुद्धपछि नै प्लास्टिकको प्रयोग बढेर गएको हो । सन् २००० मा विश्वव्यापीरुपमा वार्षिक २३ करोड मेट्रिक टन प्लास्टिक उत्पादन भएको थियो । तर, १९ वर्ष पछाडि अर्थात् सन् २०१९ को तथ्याङ्क हेर्ने हो भने प्लास्टिकको उत्पादन दोब्बरले बढेर एक वर्षमा ४६ करोड मेट्रिक टन पुग्यो ।
विश्वको अर्थतन्त्रको सबैजसो क्षेत्रमा प्लास्टिकको प्रयोग हुन्छ । प्रयोगको झण्डै ४० देखि ४५ प्रतिशत प्लास्टिक प्योकजिङमा प्रयोग हुन्छ । त्यसपछि निर्माण सामग्री, कपडा अनि विद्युतीय सामानमा पनि यसको प्रयोग हुन्छ । अहिले प्राय सामग्रीमा कुनै न कुनै रुपमा प्लास्टिक प्रयोग हुन थालेको छ ।
उठेदेखि सुत्दासम्म प्लास्टिक
हामीले बिहान उठेदेखि नसुतेसम्म प्लास्टिकले बनेका सामानको प्रयोग गर्न थालेका छौँ । बिहान दाँत माझ्ने ब्रसदेखि मञ्जन हाल्ने भाँडोसम्म प्लास्टिकले नै बनेको हुन्छ । राति सुत्ने बेलामा मोबाइल हेर्ने बानी धेरैमा बढेको छ । जसमा प्लास्टिकको प्रयोग हुन्छ । खाट तथा सिरक(फाइवर) मा प्लास्टिकको प्रयोग बढेको छ । ल्यापटप, मोबाइल, कम्प्युटर लगायतमा प्लास्टिकको प्रयोग हुन्छ ।
प्लास्टिक जस्तो सजिलै पगालेर विभिन्न आकारमा ढाल्दै सामग्री बनाउन सकिने अर्को वस्तु नभएका कारण पनि यसको प्रयोग बढेको हो । प्लास्टिक हलुका र प्रयोग गर्न सजिलो पनि छ । कतिपय अवस्थामा विकल्प नभएर र कतिपय अवस्थामा सजिलोका कारण प्लास्टिकको प्रयोग हुने गरेको छ । प्लास्टिकको धेरै प्रयोग किनमेलमा प्रयोग हुने झोला लगायत एकपटक प्रयोग गर्ने सामग्रीमा बढी छ ।
जति सजिलो उति हानिकारक
प्लास्टिकको प्रयोग जति सरल, सहज र व्यापक छ उत्तिकै हानिकारक पनि छ । यो मानव स्वास्थ्य, वातावरण, माटो तथा पानीको लागि निकै हानिकारक छ । प्लास्टिकले स्वास्थ्यमा गर्ने असरका बारेमा अध्ययन हुन बाँकी नै छ । जति अध्ययन भएका छन् तिनीहरुको निष्कर्ष डरलाग्दो छ ।
प्लास्टिक टुक्रिएर बन्ने सूक्ष्मरुप अर्थात् नानो वा माइक्रो प्लास्टिक मानिसको रगतदेखि महिलाको गर्भाशयको ‘प्लासेन्टा’मा समेत भेटिएको छ । प्लास्टिकमा ‘एडेटिभ’, ‘फिलर’ आदि रसायनहरु मिसाइएको हुन्छ । यिनीहरुको हानिबारे अध्ययन नै भएको छैन । प्लास्टिक टुक्रँदै गएर लेदो (लिच) भएपछि बढी हानी गर्छ ।
प्लास्टिकले वातावरण दूषित बनाएको छ । प्लास्टिक खाएर तथा यसको रसायनले जैविक विविधतामा असर गरेको छ । माटोलाई दूषित बनाइरहेको छ । प्लास्टिक जलाउँदा यसमा भएका रसायनहरु हावामा मिसिँदा हावा दूषित बनाइरहेको छ । नदी तथा समुद्रलाई पनि यसले प्रदूषित बनाइरहेको छ । प्लास्टिक खाएर तथा यसमा बेरिएर समेत धेरै जलचरहरुको ज्यान गइरहेका विवरणहरु सार्वजनिक भइरहेका छन् ।
मुख्य समस्या प्लास्टिकको रसायन
पेट्रोलियम पदार्थ डिजल, पेट्रोल निकाल्ने क्रममा विभिन्न किसिमका ग्यास तथा कच्चा पदार्थको सम्मिश्रणबाट प्लास्टिक बनाइन्छ । यसमा विभिन्न रसायनहरु मिसाइन्छ । कार्बन, हाइड्रोजन, नाइट्रोजन, सल्फर, क्लोरिन जस्ता तत्वहरुको सम्मिश्रण नै प्लास्टिक हो । कच्चा तेल र ग्यासहरुको सम्मिश्रणबाट बन्ने भनेको सेन्थेटिक प्लास्टिक भयो । अर्को भनेको प्राकृतिक प्लास्टिक पनि हुन्छ जस्लाई बायो प्लास्टिक भनिन्छ ।
सेलुलोज तथा प्रोटिनबाट बन्ने प्लास्टिक चाहिँ प्राकृतिक प्लास्टिक भयो । तर, यो एकदमै नगण्य हुन्छ । विश्वमा ९९ प्रतिशत सेन्थेटिक प्लास्टिक उत्पादन हुन्छ भने एक प्रतिशत मात्र प्राकृतिक प्लास्टिक उत्पादन हुन्छ ।
प्लास्टिकबाट हुने हानि भनेको यसमा प्रयोग हुने रसायनबाट नै हो । प्लास्टिक नकुहिने भएकाले कालन्तरसम्म रहिरहन्छ । यसको अर्थ अहिले फ्याँकेको प्लास्टिकले धेरै पुस्तासम्म असर गर्छ । फोहर थुप्रिरहनु एउटा समस्या हो भने यसमा मिसाइएको रसायन प्लास्टिकको कणमा समेत रहने हुनाले त्यसले स्वास्थ्यमा असर गरिरहन्छ ।
प्लास्टिक सानो कणमा टुक्रिएर हावाको माध्यमबाट तथा जलाउँदा निस्कने धुवाँ हुँदै निकै टाढासम्म पुग्छ । पानीले बगाएर नदी हुँदै समुद्रमा पनि प्लास्टिक थुप्रिरहेको छ । विश्वभरबाट बगेर पुगेको प्लास्टिकका कारण समुद्रमा अरु टापु जस्तै प्लास्टिकको टापु बन्न थालेको छ ।
बच्चा हुर्काउँदा प्लास्टिकको प्रयोग
अहिले बालबालिका हुर्काउँदा प्लाष्टिकको प्रयोग बढेको छ । जन्मेको केही समयमै प्लाष्टिकका बोतल तथा निप्पलहरुबाट दुध चुसाउने चलन बढेको छ । यस्तै डाइपर, शरीर पुछ्ने सामग्रीदेखि खेलौनासम्ममा प्लास्टिकको प्रयोग हुन्छ । यिनीहरुले बालबालिकाको स्वास्थ्यमा असर गरिरहेका हुन्छन् । विशेषगरी प्लास्टिकमा प्रयोग हुने रसायनले बढी असर गर्दछ । हुन त अहिले बच्चाले दूध खाने बोतल, खेलौना लगायत रसायनमुक्त बनाउने चलन बढेको छ । तर त्यो सीमित छ । हाम्रो देशमा प्लास्टिकमा मिसिएका रसानहरु प्रतिबन्धित नभएकोले रसायनयुक्त सामग्री सजिलै किनबेच भइरहेका छन् ।
विकल्पपछि प्रतिबन्ध
प्लास्टिकको प्रयोगमा प्रतिबन्ध असंभव जस्तै बनेको छ । निश्चित आकारका तथा वस्तुमा प्लास्टिकको प्रयोग रोक्न सकिए पनि धेरैमा गाह्रो छ । त्यसैले वैकल्पिक व्यवस्था गरेर मात्रै निषेधको चरणमा जानुपर्छ । अहिले ४० माइक्रोनभन्दा पातला झोलाको प्रयोग निषेध गरिएको छ । यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । एउटा प्लास्टिकमा एउटा मात्र चिज राख्ने प्रचलन शुरु भएको छ यसलाई हटाउन सकिन्छ । त्यस्तै चम्चा, कप जस्ता एक पटक प्रयोग गरेर फाल्ने खालका प्लास्टिको प्रयोगमा निषेध अर्को चरणमा गर्न सकिन्छ ।
हाम्रो देशको तथ्याङ्कलाई हेर्दा प्लास्टिकको प्रयोग कम छ । नगरपालिकामा उत्पादन हुने फोहरको १५ देखि २० प्रतिशत प्लास्टिक छ भन्ने तथ्याङ्क छ । ८० प्रतिशत अरु नै फोहर छ । तर बजारीकरणका कारण प्लास्टिकको प्रयोग बढिरहेको छ । सन् २०१३ मा एसियाली विकास बैंक (एडीबी) ले गरेको अध्ययनमा फोहरको मात्रामा १० देखि १२ प्रतिशत हिस्सा प्लास्टिक भए पनि अहिले बढेर १५ देखि २० प्रतिशत पुगेको छ । अहिले फोहरमा देखिने प्लास्टिकमा डाइपर, कप, पातला झोला, प्याकेजिङ (चाउचाउ, विस्कुट, जुस, सुर्तीजन्य वस्तु) मा प्रयोग भएका प्लास्टिकको मात्रा बढी छ । यस्ता एक पटक प्रयोग हुने प्लास्टिकलाई कम गर्नुपर्छ ।
आवश्यकता सही व्यवस्थापनको
प्लास्टिकको प्रयोग र व्यवस्थापन विश्वभर नै समस्याको विषय बनेको छ । एउटा नागरिकका हिसाबले सकेसम्म एकपटक प्रयोग गरेर फाल्ने खालको प्लास्टिकको प्रयोग कमभन्दा कम गर्नुपर्छ । अर्को भनेको प्रयोग गरेपछि जथाभाबी नफाल्ने ।
त्यस्तै प्लास्टिकलाई अरु कुहिने चिजसँग मिसाएर नफाल्ने । कुहिने चिज र प्लास्टिकलाई छुट्टाछुट्टै फाल्ने गर्दा प्लास्टिक व्यवस्थापन गर्न सजिलो हुन्छ।
प्लास्टिकको फोहर मात्र नभएर अरु फोहर पनि व्यवस्थापन गर्दा ‘रिड्युस, रियुज र रिसाइकल’को सिद्धान्तको प्रयोग हुन्छ । अर्थात् यो भनेको एक पटक मात्र प्रयोग गरेर फाल्ने प्लास्टिकको प्रयोग कम गर्नुपर्छ । अर्को कुरा सकेसम्म प्लाष्टिकको प्रयोगमा विकल्प खोज्नुपर्छ । जस्तो चिया खाजा खाँदा सकेसम्म प्लाष्टिक भन्दा स्टिल, काँस लगायतमा भाँडा नै प्रयोग गर्ने । एक पटक मात्रै प्रयोग हुने गिलास, प्लेटहरु सकेसम्म प्रयोग नगर्ने । कुनै काजभोजमा प्लाष्टिकका भाँडाको सट्टा धातुका भाँडा प्रयोग गर्याैँ भने त्यहाँ भाँडा माझ्नको लागि एक/दुई जनाले रोजगारी पनि पाउँछन् । यस्ता वस्तुको प्रयोग गर्दा तत्कालको सजिलोभन्दा यसले गर्ने असरबारे सोच्नुपर्छ । सामान किन्दा सकेसम्म घरबाट झोला लिएर जाने । मासु लिन जाँदा प्लास्टिक अनिवार्य होला तर अरु सामान प्लास्टिक बाहेकका झोलामा पनि ल्याउन सकिन्छ ।
नागरिकले गर्ने यी काम भए भने प्लास्टिक व्यवस्थापनमा सरकार पनि सचेत हुनुपर्छ । हाम्रो जस्तो देशमा प्लास्टिक उत्पादन हुँदैन । यो आयात गर्ने नै हो । सरकारसँग प्लास्टिक वा यसको कच्चा पदार्थ वर्षमा कति भित्रन्छ भन्ने रेकर्ड नै छैन । सबैभन्दा पनि स्पष्ट तथ्याङ्क हुनुपर्छ । सरकारले सार्वजनिक खरिद गर्दा प्लास्टिकको कम प्रयोग गर्ने खालका नियमहरु ल्याउन सक्छ ।
सरकारले अर्को गर्न सक्ने भनेको प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि छुट्टै नियमहरु बनाउन सक्छ । यसका लागि अहिले विश्वव्यापीरुपमा ‘एक्सटेण्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटी’को नियम छ । त्यो भनेको ‘पोलुटेड पे’ को सैद्धान्तिक रुप हो । जसरी हामीले फोहर फालेबापत पैसा तिर्नुपर्छ यो ‘एक्सटेण्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटी’को नियममा विश्वमा प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने कम्पनीहरु छन् ती कम्पनीले आफूले उत्पादन गरेको प्लास्टिकको वस्तुको अन्तिम व्यवस्थापनको जिम्मा उनीहरुले लिनुपर्ने भन्ने छ । भारतमा एक/दुई वर्ष अगाडि यो नियम प्रयोगमा आएको छ । यस्ता नियमहरु नेपालले पनि लागू गर्ने हो भने प्लास्टिकको व्यवस्थापनमा सहयोग पुग्छ ।
प्लास्टिकको फोहरको व्यवस्थापनमा पनि ‘रिड्युस, रियुज र रिसाइकल’को सिद्धान्तको प्रयोग हुन्छ । ‘रिड्युस र रियुज’को कुरा भइसकेको छ । प्लास्टिकलाई पगालेर दाना बनाएर फेरि अर्को वस्तु वा सामान बनाउनु ‘रिसाइकल’ हो । हाम्रो पालिका वा सरकारले अहिले गर्ने भनेको पनि यही ‘रिड्युस, रियुज र रिसाइकल’को सिद्धान्त नै हो । अहिले विश्वव्यापीरुपमा नै प्लास्टिक ‘रिसाइकल’ हुनुपर्ने भन्ने मुद्दा उठिरहेको छ । केही प्लास्टिकहरु खर्चका कारण ‘रिसाइकल’ गर्न सकिँदैन । ‘रिसाइकल’ हुने प्लास्टिकलाई भने पुनःप्रयोग हुने गरी उत्पादन गर्नुपर्ने हुन्छ ।
(लामिछानेसँगको कुराकानीमा आधारित)