बारामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना युवक घाइते
२२ असार,वीरगञ्ज । बारामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना युवक घाइते भएका छन् । बाराको करैयामाई गाउँपालिका १ सहजौली बस्ने ३० वर्षीय फिरोज हवारी र प्रसौनी गाउँपालिका १ प्रसौनी बस्ने २३ वर्षीय महम्मद बाबुजान आलम घाइते भएका हुन् ।
आज बिहान प्रसौनी–२ स्थित दुधौरा पुलमा कलैयाबाट वीरगञ्जतर्फ आउदैँ गरेको ना ७ ख ६४३४ नम्बरको टिपरले विपरीत दिशाबाट जादै गरेको ना २४ प ३४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक फिरोज र पछाडी सवार महम्मद बाबुजानको शरिरको विभिन्न भागमा चोट लागेको छ ।
ठक्करबाट फिरोज गम्भिर घाइते भएको र महम्मद बाबुजानको अवस्था भने मध्यम रहेको र उनीहरुलाई उपचारको लागि परवानीपुरस्थित एल.एस न्युरो अस्पतालमा पठाईएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर र टिपर चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय ज्ञान बहादुर तामाङलाई नियन्त्रणमा लिई घटना विषयमा थप अनुसन्धान भईरहेको बारा प्रहरीले जानकारी दिएको छ ।