नभएकाे कामकाे विवरण तयार पारी १२ लाख ८३ हजार भुक्तानी, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार १२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित छ जनाविरुद्ध मङ्गलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिए बमोजिमको काम नगरि भ्रष्टचार गरेको आयोगले आरोप छ ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका–४ काे त खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमअनुसार कारबाही नगरि छाडिएको थियो ।

कार्यस्थलमा नभएको कामकोसमेत विवरण तयार पारी १२ लाख ८३ हजार ३४ रुपैयाँ बराबरको भुक्तानी दिएको पाइएको आयोगको भनाइ छ । याे काममा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाविरुद्ध भुक्तानी दिएकाे रकम बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै त्यही कार्यालयका सब इन्जिनियर राजेन्द्र शाही र प्रशासनिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close