शिक्षक हत्या प्रकरण : आरोपित २ जना सार्वजनिक
बैतडीको पाटन नगरपालिका ६ काे श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । आज बिहीवार जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पुर्चौडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमती विमलालाई सार्वजनिक गरेको हो ।
सुर्नया गाउँपालिका २ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए । प्रहरीले सार्वजनिक गरेका श्रीमान्–श्रीमतीले आफूहरूले हत्या गरेको स्वीकारेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
विष्टको मृत्यु भएपछि शवलाई लुकाउन प्रजा र विमला दुवैले बोकेर नजिकैको केत्तुकेको झारीमा फालेका थिए । दुवै जनाविरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान कार्य जारी रहेको बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।
यसअघि हत्यामा संलग्नको सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न आन्दोलन तथा शव नबुझेका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्दै शव पनि बुझेका छन् ।