विदेश पढ्न जाने नेपालीले ४ महिनामा २२ अर्ब ६१ करोड रुपैयाँ खर्च गरे

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा नेपालीले वैदेशिक शिक्षाको नाममा साढे २२ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म वैदेशिक शिक्षाका लागि नेपालबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक शिक्षाका लागि जम्मा १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।

यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको खुद सेवा आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च भने १ सय ३७ प्रतिशतले बढेको छ । साउनदेखि कात्तिकसम्म नेपालमा सेवा आयबापत १७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा सेवा आय जम्मा सात अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

यस्तै भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च पनि ६४ प्रतिशतले बढेको छ । चार महिनामा नेपालीले विदेशमा ३३ अर्ब छ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको चार महिनामा २० अर्ब १९ करोड रुपैयाँ खर्च भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close