पशुपति दर्शनपछि विवेक ओबरायले भने- मन शान्त भएको अनुभूति भयो
सपरिवार नेपाल घुम्न आइपुगेका बलिउड अभिनेता विवेक ओबरायले आज (बिहीबार) बिहान पशुपतिनाथ दर्शन गरेका छन् । बुबाआमा, पत्नी र छोराछोरीसहित उनले पशुपतिमा पूजाअर्चना गरे ।
झण्डै एक घण्टा मन्दिरमा बिताएको ओबराय परिवारलाई हेर्न फ्यान झुम्मिएका थिए । विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् । नेपालमा समेत बाबु र छोराको राम्रै फ्यान फलोइङ छ । पशुपतिमा पूजापछि बाहिरिंदा गर्दा उनीहरुले फ्यानसँग तस्वीर खिचाए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको कुरा विवेकले मिडियासँग बताए ।
पशुपतिपछि उनीहरु चन्द्रागिरि घुम्न जाने कार्यक्रम छ । आजै उनीहरु पोखरातर्फ प्रस्थान गर्नेछन् । पोखरामा साहसिक खेलसहित घुमघाम गरेर उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कनेछन् ।
त्यहाँबाट पोखरा फर्किएर भैरहवा हुँदै लुम्बिनी जाने कार्यक्रम छ । लुम्बिनीबाट काठमाडौं फर्किएर भारत जाने उनीहरुको योजना छ । नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उद्देश्यले ओबराय परिवारलाई व्यवसायी पुनम यादवले ल्याएकी हुन् ।
नेपाल घुमेर फर्किएपछि आफूले फ्यानलाई घुम्न जान प्रेरित गर्ने कुरा ओबरायले यसअघि बताइसकेका छन् ।