महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुलाको खलङ्गा बजार नजिकै महाकाली नदीमा बनाएको अनधिकृत संरचना हटाउन भारत सहमत भएको छ । आज बुधवार भारतको धारचुलामा भएको नेपाल–भारत सीमा समन्वय समितिको बैठकमा भारतले महाकालीमा नदीमा बनाएका संरचना हटाउन र थप संरचना निर्माण नगर्न सहमति जनाएको हो ।

भारतले महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीचको समन्वयात्मक बैठक बसेको हो । बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उहाँले बताउनुभयो ।

यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरले अनुगमन गर्ने पनि सहमति भएको छ । भारतले दार्चुलाको सदरमुकाम खलङ्गालाई नै जोखिममा पारेर संरचना बनाएको भन्दै सरकारले हिजो मङ्गलवार भारत सरकारलाई कुटनीतिक नोट समेत पठाएको थियो । कुटनीतिक नोटमा नेपालको सहमतिविना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्लेख गरिएकाे छ ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्याय, सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजनाका प्रतिनिधि करनसिंह धामी र भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रमुख रीना जोशी, तहशिल धारचुलाका उपजिल्ला अधिकारी दिवेश शासनी लगायतको उपस्थिति रहेको थियो ।

भारतले महाकाली नदीको धार नै परिवर्तन हुने गरी बाँध बनाउँदा खलङ्गा बजार जोखिममा परेको भन्दै अस्ति साेमवार स्थानीयवासीले विरोध गरेपछि भारतीय पक्षबाट ढुङ्गा प्रहार भएको थियो । त्यसपछि नेपाली पक्षले पनि ढुङ्गा हान्दा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close